सेञ्चुरी बैंकबाट २५ करोडको सुन गायव ?

काठमाडौं, २९ चैत ।1460281294century-commercial-bank-limited

पछिल्लो समय नेपालका बैंकहरु असुरक्षाको अखडा बनिरहेका छन् । केही समयअघि नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा आपराधिक कार्यका लागि प्रयोग हुने बन्दूकका गोली भेटियो भने पछिल्लो समय सेञ्चुरी कमर्सियल बैंकको धरान शाखामा धितोको रुपमा राखिएका करिब २५ करोड रुपैयाँ बराबरको सर्वसाधारणको सुनचाँदी गायब बनाइएको छ ।

बैंक कर्मचारी, व्यवस्थापन सम्हालिरहेका काठमाण्डौका अधिकारी र केही माफियाहरुको संलग्नतामा सेञ्चुरी बैंकमा धितोको रुपमा राखिएको ऋणिको २५ करोडको सुनचाँदी गायब पारिएको स्रोतको भनाई छ ।

त्यति धेरै सुन गायब भएपछि सो प्रकरणलाई ढाकछोप गर्न सुन राख्नेहरुलाई अनेक खालका प्रलोभन दिएर बैंकले गुपचुप बनाउन खोजेको स्रोतले जनाएको छ । सुन गायब बनाउने कार्यमा संलग्न कर्मचारीलाई कारबाही हुन नसकेको र यो प्रकरणलाई दबाउन केन्द्रकै अधिकारीहरु समेत लागिपरेका स्रोतले उल्लेख गरेको छ ।

विगत लामो समयदेखि सेञ्चुरी बैंक धरान शाखाको सुनचाँदी कर्जामा व्यापक अनियमितता हुँदै आएको स्थानीय व्यापारीको दाबी छ । विगत ३ वर्षदेखि सो बैंकको धरान शाखाका पहिलेका शाखा प्रबन्धक निखिल श्रेष्ठ र सुनचाँदी जाँचका कुमार श्रेष्ठले सुनचाँदी धितो कर्जा प्रदान गर्दा व्यापक अनियमितता गरेका स्रोतको दाबी छ । बैंकले विभिन्न व्यक्तिको नाममा प्रदान गरेको रु ४५–५० करोड सुनचाँदी धितोकर्जा रकममा रु २०–२५ करोड बराबरको धितो राखिएका सुनचाँदी नै गायब भएको हो ।

स्रोतका अनुसार सबैभन्दा बढी सञ्जयकुमार राई तथा उसका अन्य सम्बन्धित व्यक्तिका नाममा प्रदान गरेको सुनचाँदी धितो कर्जामा ६–७ करोड र ज्ञानेन्द्र पुरकुट्टी र उसका अन्य सम्बन्धित व्यक्तिका नाममा प्रदान गरेको सुनचाँदी धितो कर्जामा ३–४ करोड बराबरको धितो राखिएका सुनचाँदी नै गायब पारिएको हो । पछिल्लो कालमा राई र पुरकुट्टी नै बैंकको केन्द्रीय व्यवस्थापनसँग मिलेर सुन गायब भएको प्रकरणलाई दबाउन खोजिएको बुझिएको छ ।

हाल धरान शाखाको नेतृत्व सम्हालिरहेका सेञ्चुरी कमर्सियल बैंकका गणेशबहादुर बरालले सुरुमा केही भएको होइन भने पनि कुराकानी गर्ने क्रममा पुरानो घटना भएको भन्दै तर्किन खोजे । ‘यो  सबै कुरा टुंगिसकेको विषय हो, राष्ट्रबैंकले पनि हेरिसकेको विषय हो ।’ उनले भने । तर २५ करोड बराबरको सुन हराएको विषय कसरी टुंगियो वा टुंग्याइयो भन्ने बिषयमा विस्तृत केही बताउन चाहेनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अनुजमनि तिम्सिनाले प्रतिक्रिया दिनै चाहेनन् ।