उदयपुर सिमेन्ट उद्योग सञ्चालन हुने

काठमाडौं , २६ चैत ।

उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज साँझदेखि सञ्चालन हुने भएको छ ।

उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको कुरा उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताएका छन् । बिग्रेको मेसिनको दाँती मर्मत गरेर ल्याई परीक्षणसमेत गरिएको कारण अब आजदेखि उद्योग सञ्चालन भई सिमेन्ट उत्पादन सुरु हुने कुरा उद्योग प्रशासनका प्रमुख पौडेलले बताए ।

जापानबाट नयाँ मेसिन खरिद गर्नका लागि पनि टेन्डर खुलाएर काम अगाडि बढाइएको कुरा उद्योग प्रशासनले बताएको छ । करिब दुई महिनासम्ममा जापानबाट अर्को नयाँ मेसिनसमेत आइपुग्ने भएको कारण पनि तत्काल बिग्रेको मेसिन मर्मत गरेर काम चलाउ गर्न सकिने भएको कारण उद्योग सञ्चालन सुरु हुन लागेको उद्योगले बताएको छ । उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँको बराबर सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनले बताएको छ । रासस