अवकाशप्राप्त ४ जना डिआईजीहरु एआईजीमा बढुवा
काठमाडौं , २६ चैत ।
अवकाशप्राप्त ४ जना डिआईजीहरु एआईजीमा बढुवा भएका छन् ।आज बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गरेको हो । अवकाश भएको डेढ वर्षपछि नेपाल प्रहरीका ४ जना डिआइजी एआइजीमा बढुवा भएका हुन् ।गृहमन्त्री शक्तिबहादुर बस्नेतले ४ जना डिआईजीहरुलाई एआईजीमा बढुवा गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी बढुवामा नपरेका ४ जना डिआइजी यादव अधिकारी, सुशिलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । रोलक्रम अनुसार आफूहरुलाई डिआइजीबाट एआइजी नबनाएको भन्दै उनीहरु अदालत पुगेका थिए।
अदालतले पनि उनीहरुलाई बढुवा गर्न अन्तरिम आदेश सुनाएपछि गृह मन्त्रालयले छुटेका ४ जनालाई एआइजी बनाउने प्रस्ताव लगेको थिएन।
चौतर्फी आलोचना र गृहमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा ४ जना डिआइजीलाई एआइजी बनाउने निर्णय मन्त्रिपरिषदले गरेको हो । २०७१ असोज २९ गते अर्थात उनीहरुले अवकाश पाएको दिनदेखिकै तलवसुविधा पाउने गरी उनीहरुलाई विशेष दरबन्दी सिर्जना गरी बढुवा गरिएको हो ।