कांग्रेस एमाले सम्वन्धमा निरन्तर चिसाेपन, गभर्नर नियुक्ति अनिश्चित

मूलखबर संवाददाता
काठमाडौं, ६ जेठ

सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीचकाे सम्वारन्धमा निरन्तर चिसाेपन बढिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच संवाद नै स्थगित भएको छ ।

विशेष गरेर गभर्नरको नियुक्तिका विषयमा पछिल्लो सम्वन्ध विग्रिएकाे छ । प्रधानमन्त्रीका धेरै कार्यशैली र पछिल्लो नीति कार्यक्रममा समेत कांग्रेसले आपत्ती जनाइरहेकाे छ ।

सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने तयारी थियो । मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको बालुवाटार स्रोतले बतायो । शीर्ष दुई दलका नेताबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ ।

कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।