संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौं, २६ चैत ।

 

नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि भन्दै बसेको संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नआएपछि निष्कर्षविहीन भएको हो । बैठकमा देउवाले कांग्रेस संसदीय दल  कार्यसमितिको निर्वाचनका कारण बैठकमा आफू आउन नसक्ने भन्दै स्थगित गर्न आग्रह गरेका थिए ।

बैठकमा थप छलफल  गर्नुपर्ने भएकाले आइतबारसम्मका लागि स्थगित गरिएको कानुन मन्त्री अग्नी खरेलले जानकारी दिए ।

बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने बताइएको थियो । हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत ३० गतेदेखि अवकाश पाउने भएकाले संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न लागेको छ ।