सर्बसाधारणले सहज रुपमा ग्याँस पाउन नसकेको सरकारी स्वीकारोक्ति

काठमाडौं, २५ चैत ।gassss

पहुँचवालाहरुले उद्योगबाटै ग्यास लैजाने गरेकाले सर्वसाधारणले सहज रुपमा ग्यास नपाएको सरकारी अधिकारीहरुले नै बताएका छन् ।

ग्यास आपूर्ति समस्या दीर्घकालीन रुपमा समाधान गर्न ग्यास कार्डको व्यवस्था गरिनुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले
पहुँचवालाको कारण सर्वसाधारण उपभोक्ताले सहज रुपमा ग्यास पाउन नसकेको बताए ।

हाल मुलुकभर करिब ६२ लाख खाली सिलिण्डर रहेको भन्दै उनले ती खाली सिलिण्डर उठाउन आग्रह गरे । ग्यास वितरणमा सहजता ल्याउन ग्यास कार्ड वितरण गर्नुपर्ने उनको भनाई छ ।

नेपाल आयल निगमले महिनौ दिन अगाडि नै उपभोक्ता ग्यास कार्ड वितरण गरेपछि कार्यान्वयनमा आएको छैन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बजारमा अवैद्य सिलिण्डर व्यापक रुपमा रहेको भन्दै सिलिण्डर पहिचानको आधार बनाउन आयल निगमलाई आग्रह गरे ।

उनले कालोबजारी गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने दाबी बताए । अघिल्लो वर्षको मार्च महिनामा २८ हजार मेट्रिक टन आयात भएकोमा यस वर्षको मार्च महिनामा ३१ हजार बढि मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव उस्तै छ ।

आयल निगमका कार्यकारी प्रमुख गोपाल बहादुर खड्काले ग्यास आयात कम भएकोले चाहिएजति पुर्‍याउन नसकिएको बताए । आयात कम भएकोले नै कालोबजारी देखा परेको भन्दै आयात बढाउन भारतीय आयल कर्पोरेशनसँग छलफल भईरहेको बताए ।

ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने अनुगमनको नाममा सरकारले ग्यास व्यवसायीलाई अनावश्यक दुःख दिने गरेको बताए । ग्यास आयात नबढाएसम्म समस्या समाधान नहुने उनको भनाई छ ।