काँग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

काठमाडौं, २४ चैत।

संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेताका लागि बिहान ११:०० बजेदेखि मतदान सुरु भएको छ ।

निर्वाचनमा पहिलो मतदान रामेछापका सांसद् शिवबहादुर खड्काले गरेका थिए । काँग्रेसको १३औँ महाधिवेशनको सभापति पदमा जस्तै संसदीय दल नेताको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गरिरहेका छन् ।

काँग्रेसका २०७ सांसद् सहभागी निर्वाचन दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए। विद्युतीय मतदान यन्त्रमा भइरहेको मतदान सकिएलगत्तै मतगणना सुरु गरिने समितिले जनाएको छ ।

बुधबार साँझमै मत परिणाम प्राप्त हुने समिति सदस्य घिमिरेले बताए । मतदान गर्न काँग्रेसका सबै सांसद् अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा लामबद्ध छन् ।

काँग्रेस संसदीय दलका नेता एवम् सभापति सुशील कोइरालाको निधन गत माघ २५ गते सोमबार राति भएपछि सो पद रिक्त रहेको थियो ।

संसदीय दलको नेता पद खाली रहँदा संवैधानिक समितिले सिफारिस गर्ने संवैधानिक अङ्गका रिक्त पदमा समेत नियुक्तिको सिफारिस हुन सकेको छैन । रासस