नि:सन्तान भएकोमा गर्व गर्छु: नायिका गौरी मल्ल
कुनै बेला ‘कन्यादान’ चलचित्र हेरेर गौरी मल्ललाई रुँदै स्नेह गर्ने दर्शकहरू जताततै भेटिन्थे । अहिले तिनै गौरी मल्ललाई देशको प्रधानमन्त्रीका रूपमा दर्शकहरूले सम्मान गरिरहेका छन् । हालै नेपाल टेलिजिभनबाट प्रदर्शित ‘सिंहदरबार’ मा उनले प्रधानमन्त्रीका रूपमा गरेको सशक्त अभिनयको प्रमाण हो त्यो । ३० वर्षमा जम्मा ५० जति चलचित्रमा देखिए पनि गौरी मल्लको खातामा यस्ता चलचित्र पर्छन्, जसले इतिहास निर्माण गरेका थिए । उनले हिन्दी चलचित्र ‘इस्किया’ मा माधुरी दीक्षितसँग पनि अभिनय गरेकी थिइन् । जीवनका विभिन्न समयमा भोगेका अनौठा घटना र अनुभवका कारण पनि उनी अन्य नायिकाभन्दा फरक देखिएकी हुन सक्छिन् ।
केही वर्षअघि तपाईंले भुङ्ग्रोमा हिँडेको, काँचको टुक्रामा नाचेको खबर आएको थियो । यस्तो दुस्साहसी काम गर्ने आँट कसरी आयो ?
सुन्दा अपत्यारिलो लाग्छ तर यो माइन्ड टेक्नोलोजीको सामान्य प्रक्रिया हो । मनले जबसम्म आगोलाई आगो मान्छ, तबमात्र पोल्छ । आगोलाई पानी मान्नुभयो भने आगोले पनि पोल्न सक्दैन । हाम्रो मस्तिष्कमा यस्ता तन्तुहरू छन्, जसलाई ठिहिर्याउँदो हिमालमा हुँदा पनि यो हिमाल होइन, आगोको ज्वाला हो भन्ने विश्वास दिलाउनु होस्, शरीरमा तरतरी पसिना आउन थाल्छ ।
कसरी ?
उम्लिएको पानी देख्ने बित्तिकै हाम्रो मस्तिष्कले यसले पोल्छ भन्ने मान्छौँ । त्यो हाम्रो मस्तिष्कमा अंकित हुन्छ । जसै बरफ देख्छौं यो चिसो छ भन्ने मान्छौं । हामीले थाहै नपाई उक्त कुरा मस्तिष्कमा पुगिसकेको हुन्छ । अब त्यसलाई परिवर्तन गरिदिनुहोस् । उम्लिरहेको पानीबाट उठेको बाफलाई चिसो बरफबाट निस्किरहेको बाफ मान्नुहोस् । त्यसलाई यति भित्री तहबाट आत्मसात् गर्नुहोस् कि यो उम्लिरहेको पानी होइन, चिसो पानी हो । यति चिसो कि ठिहिर्याउँदो छ । छुनै नसकिने चिसो छ । यो सुझावलाई मस्तिष्कले स्वीकार गरेपछि त्यो उम्लिरहेको पानीले पनि पोल्दैन । पोल्नु त टाढाको कुरा त्यो पानी बरफ बन्न पुग्छ ।
हिजोआज तपाईं रेकी उपचारक पनि हुनुभएको छ, कसरी यो क्षेत्रमा आउनुभयो ?
म मनोक्रान्ति दर्शनबाट प्रभावित छु । डा. योगी विकासानन्दसँग दीक्षा लिएर मैले यी सबै काम गरेकी हुँ । शारीरिक तथा मानसिक रोगसँग लड्न यो विद्या चाहिन्छ भन्ने लाग्यो र यसको अध्ययन सुरु गरेकी थिएँ । पछि अरुलाई अप्ठ्यारो पर्दा वा नजिक अस्पताल नहुँदा तत्कालका लागि उपचार सुरु गरेकी थिएँ । त्यसले राम्रो प्रभाव छाडेपछि साथी–भाइहरूले यो कुरालाई बाहिर ल्याइदिए । विशेष गरी जापान र अमेरिका बस्दा त्यहाँका साथीहरूमाथि यो विद्या प्रयोग गरेकी थिएँ ।
अब पूर्ण रूपमा अध्यात्ममा लाग्ने हो ?
मेरो मूल पेसा अभिनय नै हो । तैपनि अध्यात्म हरेक मानिसका लागि आवश्यक छ । हरेक मानिसले एक–दुई घन्टा आफूलाई दिनुपर्छ, आफूलाई निखार्नुपर्छ । मानिसहरू बुढेसकाल लागेपछि मात्र धार्मिक हुनुपर्छ भन्ने मान्छन् । त्यसो होइन । यो खाना, निद्रा र पहिरनजस्तै अत्यावश्यक कुरा हो ।
कलाकारितामा कसरी आउनुभयो ? सानैदेखि कलाकार बन्छु भन्ने सोच्नुहुन्थ्यो ?
मेरो जीवनमा कहिल्यै पनि प्रयास गरेर केही भएको छैन । म मेहनत गरेर, सोचेर काम गर्दिनँ । जे अघि आउँछ, त्यसलाई निष्ठापूर्वक गर्छु । मेरो उद्देश्य नर्स बन्ने थियो । बुवा सेनामा हुनुभएकाले उहाँ मलाई पनि सेना भै भर्ती गर्न चाहनुहुन्थ्यो । त्यतिबेला आजको जस्तो महिलाले सीधै सेनामा प्रवेश पाउने अवस्था थिएन । डाक्टर वा नर्सको जागिरे भएर सेनामा प्रवेश गर्नुपर्थ्यो । बुवा र मेरो सोच मिलेको थियो, तर अचानक अभिनयमा आइयो ।
त्यो बेला नेपालमा त्यति चलचित्र बन्दैनथे । तपाईं साह्रै सुन्दरी पनि होइन । कुन परिस्थितिमा नायिका छानिनुभयो ?
बसु दिदी (कलाकार बसुन्धरा भुसाल) लाई निर्देशक प्रकाश थापाले ‘सन्तान’का लागि नयाँ अनुहार चाहिएको बताउनुभएको रहेछ । उहाँ आफ्नो प्रहरी श्रीमान्सँग हेडक्वाटर आइरहनुहुन्थ्यो । म पनि त्यहाँ गैरहन्थें, किनभने प्रहरी प्रमुखकी श्रीमती इनु सिंह मेरी दिदी पर्नुहुन्थ्यो । उहाँकी छोरी करुणा शाह मेरी साथी । मलाई साह्रै स्नेह गर्ने भएकाले कलेज नभएका बेला मलाई बोलाइरहनुहुन्थ्यो । बसु दिदीसँग मेरो त्यही परिचय भएको थियो ।
उहाँले चलचित्रका लागि नायिका नपाएको कुरा गर्दा इनु दिदीले यो केटी पनि राम्रो नाच्छे, गाउँछे भन्नुभयो । रहरैरहरले तस्बिर खिचियो, तर तपाईंले भने जस्तो म उति राम्री थिइन । सीधै रिजेक्ट भएँ । मलाई बाहिर पार्न लामो डायलग दिइएको थियो, तर मैले सजिलै त्यो डायलग डेलिभरि गरेपछि निर्देशक छक्कै पर्नुभएछ । पछि अरूले अस्वीकार गर्दा पनि उहाँले मलाई यही केटी चाहिन्छ भनेर जिद्दी गर्नुभएछ ।
कुनै कोर्स गर्नुभएको थियो ?
स्कुल–कलेजमा हुँदा साहित्यका पुस्तक निकै पढ्थेँ । ती पात्रले बोल्ने शैलीलाई जस्ताको तस्तै उतार्थे । विशेष गरी कोर्समा राखिएका एकाङ्की नाटक पढेरै मैले डायलग डेलीभरी गर्न जानेकी रहेछु । मेरो बुवा सेनाका जबानहरूलाई नाच्ने तालिम दिनुहुन्थ्यो । त्यो मैले देखेकी थिएँ । विद्यालयका साना बालबालिकाहरूलाई बुवाको त्यही शैलीमा नाच्न सिकाउँथे । यसले गर्दा मलाई नाच्न–गाउन अनि डायलग बोल्न सजिलो भयो । चेलीबेटी, नाता, सरस्वती, भीष्म प्रतीक्षा, मुकुन्डो, वसन्तीजस्ता चलचित्रमा काम गरेपछि भने मेरा सबै क्रियाकलाप चलचित्रमा आउन ईश्वरले रचेका रहेछन् भन्ने लाग्यो ।
तपाईं चर्चित नायिका हुँदा पनि कहिल्यै विवादमा आउनुभएन । प्रेम र यौनसम्बन्धी विवादमा पनि फस्नुभएन । किन होला ?
त्यो पनि मलाई आश्चर्य लाग्छ । मेरा समकालीन नायिकाहरूको यस्ता गसिप पढ्दा कहिलेकाहीँ मलाई पनि डर लाग्थ्यो, तर मेरा बारेमा कहिल्यै त्यस्ता विवादित कुरा छापिएनन् । कतिसम्म भने त्यो बेलाका चर्चित पत्रकारहरूले मेरो प्रेमीसँगै हिँडेको देख्दा जिस्क्याउँथे तर पत्रिकामा त्यो कुरा आउँदैनथ्यो । त्यतिबेला एउटी नायिका खुलेआम प्रेमीसँग हिँडेको भेटिनु ठूलो समाचार हुन्थ्यो । यस अर्थमा म भाग्यमानी पनि हुँ ।
कति वर्ष प्रेम गर्नुभयो ? कसरी विवाह भयो ?
सबै कुरा भन्नुपर्छ । यो त साह्रै व्यक्तिगत कुरा भयो नि ।
प्रेम र विवाहका कुरामा लुकाउनुपर्ने विषय पनि हुन्छन् र ? कुनै गलत कुरा भएका थिए र ?
त्यस्तो त केही होइन । तैपनि त्यो प्रेम र विवाह कुरा पुरानो भैसक्यो । अहिले परिस्थिति पनि फरक परिसक्यो । त्यसो त लुकाउनैपर्ने कुरा पनि केही छैन ।
त्यसो भए भन्नुस् न त कसरी सुरु भयो तपाईंको प्रेम ?
हामीले सात वर्षसम्म प्रेम गर्यौं । एक वर्ष त हामीले एक–अर्कालाई नदेखेरै प्रेम गर्यौं । टेलिफोनमा एक–अर्काको बोली सुनेकै भरमा मन परायौं । मैले उहाँलाई नदेखिकनै प्रेम गरेकी हुँ ।
तपाईं चर्चित नायिका भएर पनि यस्तो अन्धो प्रेम ?
प्रेम आखिर प्रेम नै हो । यसमा देख्नु र नदेख्नुको के अर्थ हुन्छ र ? उहाँले मलाई चिन्नुहुन्थ्यो, देख्नुहुन्थ्यो, तर लामो समयसम्म आफूलाई लुकाएर राख्नुभयो । मैले पनि चिन्ने प्रयास गरिनँ । यति थाहा थियो, उहाँ अग्लो–गोरो युवक हुनुहुन्थ्यो । कहिलेकाहीँ अग्लो गोरो युवकले मलाई हेरिरहेको देखेँ भने यो युवक कतै मेरो प्रेमी त होइन भनेर झस्कन्थे । खुट्टा टेक्नै गाह्रो हुन्थ्यो । टेलिफोनमा आज तपाईं फलानो ठाउँमा यस्तो रंगको लुगा लगाएर मलाई हेरिरहनुभएको थियो हो भनेर सोध्दा उहाँले म त्यो होइन भन्नुहुन्थ्यो । त्यसपछि ढुक्क हुन्थें । कुनै चलचित्रको सस्पेन्स दृश्यजस्तै थियो मेरो प्रेम ।
टेलिफोनमा कसरी भेट भयो, ब्लफकल थियो ?
म त्यति बेला बसु दिदीकहाँ पेइङ गेस्ट भएर बसेकी थिएँ । बसु दिदीकी छोरी मेरी मिल्ने साथी थिइन् । उहाँ उनैको परिचित साथी हुनुहुन्थ्यो । उनीहरूको टेलिफोनमा कुरा भैरहन्थ्यो । एक दिन घरमा कोही नभएकाले मैले फोन उठाएँ । त्यो साधारण परिचयपछि म पनि उहाँसँग कुरा गर्न थालेँ । उहाँको कुरा गर्ने शैली यति मोहक थियो कि पछि–पछि त उहाँसँग कुरा गर्नु एडिक्सन नै भयो । कुनबेला मन बस्यो पत्तै भएन ।
कसरी भेट भयो ?
मेरो जन्मदिनको उपलक्ष्यमा उपहार दिन आउँदा भेट भयो । त्यो बेलासम्म हामी यति गहिरो प्रेममा थियौं कि एक–अर्कालाई माया गर्छु भन्नै परेन । त्यसपछि नि हामी लगातार ६ वर्ष प्रेममा थियौं । सातौं वर्ष मात्र हामीले विवाह गर्यौं । यति लामो प्रेम पनि बाहिर कसैलाई थाहा भएन । विशेष गरी समाचारमा यो कुरा आएन । हाम्रो प्रेमलाई साथीभाइले आदर्श प्रेम मान्थे ।
यति गहिरो प्रेम भएर गरिएको विवाह असफल भयो, सम्झँदा कस्तो लाग्छ ?
अनौठो लाग्छ । मान्छे पत्रे चट्टानजस्तै हो । उसलाई चिन्नुहोस्, जति भित्र पस्नुहोस् पत्रे चट्टानजस्तै ऊ हरेक पत्र–पत्रमा फरक हुँदै जान्छ । वर्षौं सँगै बसेर पनि उसलाई सम्पूर्ण रूपमा चिन्न सकिँदैन । अर्को कुरा, हरेक वर्ष मानिसको सोच, खानपिन, व्यवहार फरक हुँदै जान्छ ।
कुन मोडमा पुगेर यो विवाह अघि बढ्न सक्दैन भन्ने निर्णय गर्नुभयो ?
म साह्रै अन्तरमुखी स्वभावकी महिला हुँ । कुनै कुरा दबाएपछि त्यो भित्रभित्रै क्यान्सरझैँ फैलिन्छ । ऊसँग दुईवटा विकल्प हुन्छ या त कडा औषधि खाएर त्यो कुरालाई दबाउनुपर्छ, होइन भने त्यसलाई काटेर फाल्नुपर्छ । मैले काटेर फाल्ने निर्णय गरेकी हुँ । विवाह भएको पाँच वर्षपछि नै म यो सम्बन्धलाई अघि बढाउन असमर्थ छु भन्ने मान्न थालेकी थिएँ । समाज, परिवार र भोलिको जीवन के होला भन्ने सोच्दा र त्यसलाई व्यवस्थापन गर्न दुई वर्ष लाग्यो । सातौं वर्षमा मैले पारपाचुके गरेँ ।
तपाईं मानसिक रुपमा पनि अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो भन्ने खबर आउँथ्यो, सत्य के हो ?
जब कुनै पनि तनाबले अप्ठ्यारो अवस्था निम्त्याउँछ, त्यसले भयंकर रूप लिँदो रहेछ । यही तनाव व्यवस्थापन गर्न नसक्दा मलाई गर्भाशयको क्यान्सर भएछ । यो कुरा मैले आमालाई समेत बताइन् । जब रोग निको भयो, अनि मात्र यथार्थ बाहिर ल्याएँ । हरेक मानिसमा मानसिक समस्या हुन्छ, धेरै र थोरै भन्ने कुरा मात्र हो । हरेक मानिस दोहोरो जीवन बाँच्न अभिशप्त छ । दोहोरो जीवन बाँच्दा–बाँच्दै मलाई क्यान्सर भैसकेको रहेछ ।
यति ठूला–ठूला घटना भए, अहिले सम्झँदा कसलाई दोष दिनुहुन्छ ?
कोही दोषी थियो भन्ने लाग्दैन । वैशाखमा भूकम्प आउँदा हामी कति आत्तिएका थियौं । जीवन नै बर्बाद भयो भन्ने लाग्थ्यो । आजभोलि हामी त्यसलाई यसरी हल्लियौं, उसरी भाग्यौं भनेर हाँस्दै भूकम्पका बारेमा कुरा गरिरहेका हुन्छौं । किन होला ? किनभने विगत जतिसुकै तीतो होस्, हामीलाई पछि त्यो रमाइलो लाग्छ । मेरो प्रेम, विवाह र पारपाचुकेलाई पछाडि फर्केर हेर्दा मलाई पनि त्यस्तै लाग्छ ।
तपाईं ४ वर्ष जापान बस्नुभयो । वैवाहिक जीवनमा समस्या आयो । विरामी हुनुभयो । ३ वर्ष अमेरिकामा हराउनुभयो । तैपनि नेपाली चलचित्रले तपाईंलाई सधैं माया गरिरह्यो । अनौठो लाग्दैन ?
मैले कहिल्यै पनि पुनरागमन भन्ने शब्दको अनुभव गर्नुपरेन । कसैले पनि यत्रो वर्ष हराएकी भनेर नाक खुम्च्याएनन् । काम दिइरहनुभयो । दर्शकले पनि स्वागत गरिरहनुभयो । यस अर्थमा म भाग्यमानी हुँ । मलाई पनि कहिल्यै यो चलचित्र क्षेत्रबाट टाढा भएँ भन्ने लाग्दै लागेन ।
हामीले हेर्दा पनि तपाईं सफल कलाकार हुनुहुन्छ । तैपनि व्यक्तिगत जीवनमा सन्तान भएनन्, जीवन एक्लो छ भन्ने लाग्दैन ?
म आफू नि:सन्तान भएकोमा गर्व गर्छु । छक्क नपर्नुहोला । कारण मैले बच्चा जन्माएको भए, एउटालाई मात्र स्याहार गर्नुपर्थ्यो । एउटासँग बाँधिनुपर्थ्यो । अहिले संसारका सबै बच्चा मलाई आफ्नै जस्ता लाग्छन् । सुरुमा रहरले सन्तान जन्माइन्छ । पछि त्यो कर्तव्य हुन पुग्छ र एउटा समयमा त्यो बोझ बन्न पुग्छ । म यी सबैबाट मुक्त छु । खुसी लागेको छ ।
अझै लामो जीवन बाँकी छ । एक्लो जीवन कसरी बाँच्ने ?
कसले भन्यो जीवन लामो छ । जीवन जुनबेला पनि जान सक्छ । जीवन भोलिका लागि बाँच्नु नै दु:खको कारण हो । आजको दिन, अहिलेको क्षण बाँच्नुपर्छ । मलाई सार्थक जीवन बिताउन मन लाग्छ, लामो होइन । मैले जीवनमा आफ्नो क्षमता भन्दा धेरै पाएँ भन्ने लाग्छ ।
आश्विनी कोर्इराला/साप्ताहिकबाट साभार गरिएको ।