मेरो पर्खाइमै खोट रहेछ

विष्णु रेग्मी
चितवन

मेरो पर्खाइमै खोट रहेछ

मेरो पर्खाइमै कुनै खोट थियो होला
नत्र उनी त नआई नछाड्ने मान्छे हून,
गुँडले पनि चराहरुलाई पर्खिरहेको बेला,
परैबाट घाँटी तन्काई तन्काई गुँड हेर्दै आईरहेको देख्दा,
उभिएको छु म आधा भत्कीएर,
कौशीमा गौथलीले कत्रो परिश्रम गरि गरि बच्चाहरु हुर्काएर लगिसक्यो,
मनसुनमा आउँछु भन्थ्यौ,
जाडो याम आइसक्यो,
अझै पनि तिम्रो यादमा
बार्दलीमा बसी साँझ पख
म अस्ताएको क्षितिज हेरीरहेछु,
हरेक दिनको घाम व्युँझनु अघि सपनाहरु व्युँझाईरहेछु
घाम अस्ताउनु अघि विपनाहरु अस्ताईरहेछन्,
अनुभुतीको सिरेटो वतास बनि बगिरहेछ,
आफ्नो उध्रेको मन तिम्रै यादहरुको सियो धागोले
सिउने कोशिस गरिरहेछु,
तिमी समयमै फर्कन नपाए पनि,
द्यौरालीमा मेरा यादहरुको फूल अक्षता चढाई दिनु
साँझ पख म अस्ताएको क्षितिज हेरीरहनु,
आँसुले बर्षा सिम सिम पारिरहनु,
मेरो पर्खाइमै कुनै खोट थियो होला
नत्र
भीषण वर्षा र आँधीहुरी छिचोलेर,
बादल पारीवाट
हुर्रीदै वेगवान गतिमा आउनु पर्ने हो मलाई भेट्न,
कुनै फलामे जञ्जीरमै परेको भए पनि
जञ्जीरै तोडेर पनि आउनु पर्ने हो
मेरो पर्खाइमै पक्कै पनि कुनै खोट थियो नै होला
नत्र उनी नआई नछाड्ने मान्छे हुन् ।।

(रेग्मी नारायणी डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत हुनुहुन्छ)