पोखरामा ड्रागन बोट रेस सुरु

मूलखबर संवाददाता
काठमाडौं

पर्यटन राजधानी पोखराको फेवातालमा आइतबारबाट अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ आरम्भ भएको छ ।

दोस्रो संस्करणको यो प्रतियोगिता कुल २० समूहको सहभागिता छ । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चीनका विभिन्न प्रान्तको प्रतिनिधित्व गर्ने आठ र सिङ्गापुरको एक समूह सहभागी छन् । आइतबार दुई सय मिटर र पाँच सय मिटरतर्फ पहिलो चरणका खेल भएका छन् ।

सोमबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता भएको हो । नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखरा प्रतियोगिताका सहआयोजक छन् ।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेताले पाँच हजार अमेरिकी डलर दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार दुई सय डलर पुरस्कार पाउनेछन् । सहभागी अरु समूहले पनि प्रोत्साहन स्वरूप पाँच सय डलर पाउने छन् ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यस्ता प्रतियोगिताले पर्यटन प्रबद्र्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्नसमेत सघाउने विचार राख्नुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले यस खालका प्रतियोगितालाई प्रदेश सरकारले पनि सघाउँदै आएको उल्लेख गर्नुभयो । प्रतियोगितामा सहभागी हुन चीनबाट विमान चार्टड गरी एक सय २९ खेलाडी पोखरा आएका छन् । गत वर्ष चीनले प्रतियोगिताका लागि आठ डुङ्गा दिएकोमा यस वर्ष पनि थप आठ डुङ्गा दिएको छ ।

चीनमा लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा आयोजना गर्न थालिएको हो । गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय र वेगनासताल राष्ट्रिय स्तरका प्रतियोगिता भएका थिए ।