म कसरी म बन्न सकेँ ?

रामहरि अधिकारी

मलाई म बन्न सिकाउने केहि घटनाहरु :


१. २०४२।४३ तिरकाे कुरा हो, मेरा बा पँचायती ब्यबस्था बिरोधी आन्दोलनमा लागेको कारणले गाउँबाट बिस्थापित भएर हामी सबै परिवारलाई लिएर काठमाडौँ आउनु भएको थियो । त्यहि बेला काठमाडौँको बिस्तार क्याम्पस नामको पुतलिसडकमा भएको रात्री क्याम्पसमा एक बर्षे बिएड् गर्दै हुनुहुन्थ्यो । र दिनको समयमा डिल्लिबजारको यौटा नीजि बिद्यालयमा पढाउने काम पनि गर्नुहुन्थ्यो । उहाँ बर्खाको बेलामा रेनकोट ओढेर हिँड्नु हुन्थ्यो । पानी परिरहने र वस पनि फेरिरहनु पर्ने हुँदा एकपटक उहाँले बस चढेर पनि रेनकोट फुकाल्न बिर्सनु भएछ। उहाँ चढेकै बसमा अलि धनाढ्य परिवारका जस्ता देखिने २।३ जना कलेजका बिद्यार्थी पनि चढेछन् । उनीहरुले बसभित्र भएर पनि रेनकोट लगाएको देखेर अंग्रेजीमा ‘ कस्तो पाखे रहेछ ‘ भन्दै कुरा काटेछन् । मेरा बाले अग्रेजीमै ” तिमीहरुले पढेको यहि हो, तिमीहरुको अनुशाषन यहि हो ? म शिक्षक हुँ , मेरा त बिद्यार्थी अनुषाशित हुन्छन्, तिमीहरुका शिक्षक कस्ता छन्?’ भनेर मार गालि गर्नु भएछ । केटाहरुले ‘ पाखे भनेर अंग्रेजी बोल्दै खिस्याएको त अंग्रेजीकै शिक्षक पो परेछ’ भन्ठानेर ‘सरि’ भन्दै माफि मागेछन् । मलाई मेरा बाउको सादगी प्रति गर्ब लागेर आयो र अहिलेसम्म गर्ब लागिरहन्छ ।

२. २०४३ मा हामी बासित काठमाडौँ भएकै बेलाको कुरा हो, म बालाजुको तरुण माबिमा पढ्थेँ । त्यतिबेला हाम्रो डेरा सामाखुशीमा थियो । र त्यहाँको सामाखुशी खोला अहिलेजस्तो जमिन मुनि हराएको थिएन । त्यसको बीचमा अलिकति उठेको पूल थियो । म बिद्यालयबाट डेरातिर आईरहेको थिएँ । त्यतिवेला काठमाडौंमा रिक्सा चल्ने गर्थ्याे । यौटा रिक्सावाल कुर्लुम्त भारि हालेको रिक्सा ठेलेर पुल पार गराउन खोज्दै थियो । तर बढी भारीको कारण उसको रिक्सा पुलतिर उकालो चढ्न नसकेर पछि पछि हट्दै थियो । उसले खुईय गर्दै मतिर हेर्यो र मलाई ”ए भाई , म तिमीलाई दुई रुपियाँ दिन्छु, यो रिक्सा ठेल्न मदत गरिदेउन ” भन्यो ।
मलाई झनक्क रिस उठयो, ” ए, म तेरो रिक्सा ठेल्ने जस्तो देखिन्छु ?”भन्दै बाटो लागेँ । अलि पर पुगेपछि, ” ज्या, त्यो मान्छे पनि म जस्तै त हो नि, उसले रिक्सा ठेल्न हुन्छ, मैले हुँदैन ? झन् दुई रुपियाँ पनि दिन्छु भनेको छ । यतिले त एक कप चिया, यौटा पाउरोटी र एक प्लेट तरकारी आउँथ्यो, मेरो आजको खाजा टरिहाल्थ्यो । थुक्क मेरो घमण्ड ।” भनेर आफैँलाई धिक्कारेँ अनि फेरि फर्केर गएँ । तर रिक्सावालले रिक्सा उकाली सकेको रहेछ । यो घटना संझिँदा मलाई अहिले पनि लाज लाग्छ र आफूले आफ्नै गालामा थप्पड हान्न मन लागिरहन्छ ।

३. २०५९ तिरको कुरा हो । म नेपाल सरकारको हेल्थ असिष्टेन्ट जागिर छोडेर युनाईटेड मिशन टु नेपालको यौटा परियोजनामा अधिकृत तहको जागिर खान गएँ । जागिर शुरु भएपछि अभिमुखिकरण तालिम भयो । पहिलो दिनको तालिम सकिँदा बेलुका ५ बज्यो । अफिस सेक्रेटरी दिदीले मलाई ” रामहरि जी, त्यो कोठाको पर्दा लगाईदिनुस् है ” भन्नु भयो ।
”म हेल्थ असिष्टेन्ट हुँदा मेरो कत्रो खातिरदारी थियो, दुई दुई जना त पिउन ( अहिले कार्यालय सहयोगी भनिन्छ ) थिए । मेरो ब्यक्तिगत हाते झोला समेत मैले बोक्नु पर्दैन’थ्यो । म अहिले त झन अधिकृत, ढोकाको पर्दा लगाउँछु ? ” रिसले मेरो कन्पारा तात्यो । त्यो दिदीले भनेको सुनेको नसुन्यै गरि हिँड्न लागेको थिएँ, अर्को कोठातिर मेरो आँखा गयो। त्यहाँको पर्दा त त्यहाँको कार्यक्रम निर्देशकले लगाउँदै हुनु हुँदो रहेछ । म लाजले पानी पानी भएँ ।

४. कुरा २००६ तिरको हो । म हेटौँडामा सिसिडिएन भन्ने संस्थासितको साँझेदारीमा संचालित बिदेशी परियोजनामा अधिकृत भै काम गर्थेँ । त्यहाँ महेन्द्र मगर भन्ने कार्यकारी निर्देशक हुनुहुन्थ्यो । एकपटक जिल्ला बिकास समितीको हलमा सिसिडिएनले यौटा भब्य कार्यक्रम संचालन गर्यो । जि्ल्लाका सिडिओ, एलडिओजस्ता ठूला ठूला हाकिमहरुले ” महेन्द्र जी खै ?” भन्न थाले । पर छेउबाट महेन्द्र मगर जुरुक्क उठेर ‘ म यहाँ छु सर ” भन्नु भयो । अरु मान्छे मंचमा ठाउँ पाईएन भनेर मारामार गर्छन्, उहाँ आफ्नो कार्यक्रम अरुलाई संचालन गर्ने जिम्मा दिएर पछाडी गएर बस्नु हुँदो रहेछ । म श्रद्दाले पानी पानी भएँ ।

५. २००८ तिरको कुरा हो, म वर्ल्डभिजन नाम अन्तराष्ट्रिय गैह्र सरकारी संस्थामा कार्यरत थिएँ । अफिसमा कुनै तालिम संचालन भैरहेको थियो । अफिसकै छतमा दिउँसोको खाना खाने ब्यबस्था थियो । खाना खाईसकेपछि मैले मेरा जुठा भाँडा त्यतिकै टेबलमा छोडेर हिँडे, त्यत्रो आईएनजीओको अधिकृत जो थिएँ । तर पल्लो छेउमा गएर हेर्छु त त्यहाँका टेबलमा भएका प्लेटहरु राष्ट्रिय निर्देशक डेभिड पर्नेलले उठाईरहनु भएको रहेछ । म लाजले पानी पानी भएँ ।


५. सन् २०१० तिरको कुरा हो , म युकेमा पढ्दै थिएँ र दिउसो बिश्वबिद्यालय जाने अनि रातको समयमा बेला बेला केयरहोमहरुमा गएर काम पनि गर्थेँ । एजेन्सिहरुले पठाएका नयाँ नयाँ ठाउँहरुमा गएर त्यहाँको मेनेजरलाई भेटेर उसले अह्राए खटाए बमोजिम काम गर्नुपर्थ्यो । एकपटक रिंगउड भन्ने ठाउँमा जानु पर्ने भयो । त्यहाँ गएर हेर्छु त यौटा मान्छे भुँईमा पोछा लगाईरहेको छ, मेनेजर जस्तो देखिने मान्छे कोहि देखिन्न । मैले त्यही पोछा लगाईरहेको मान्छेलाई ” तिम्रो मेनेजर ग्यारी रोबर्ट्स खोई ? म उसलाई भेट्न चाहन्छु ‘ भने । उसले हाँस्दै जबाफ दियो, ”दूर्भाग्यबस , त्यो ग्यारी भन्ने मेनेजर मै हुँ ।” म लाजले पानी पानी भएँ ।


अचेल अलिकति केहि हुँदा बितिक्कै म त ठूलो मान्छे हुँ भनेर सोच्ने, मंचमा हुँदा अगाडी बोलाएर सम्मान गरिनु पर्ने, आफू रित्तै हिडेर आफ्नो झोला अरुलाई बोकाउनु पर्ने, गाडी चढ्डा अगाडीको सिट नछोड्ने, आफूले खाएको थाल माझ्न त परै जाओस, उठाउन समेत नहुने यस्ता आडम्बरीहरुको बीचमा मलाई आजसम्म ‘ म’ भएर बाँच्न माथि उल्लेखित पाँच वटा र अन्य यस्तै अनेकन घटनाहरुले सिकाएको पाठले मदत गरिरहेका छन् । अब बाँकि जीबन पनि आडम्बर नगरिकन सामान्य भएर बाँच्न पाईयोस् ।