एसएलसीको केन्द्राध्यक्षलाई २० बुँदे निर्देशन
लमजुङ, १७ चैत /
एसएलसी परीक्षा २०७२ लाई मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालय लमजुङले केन्द्राध्यक्षका लागि २० बुँदे परीक्षा संचालन तथा ब्यवस्थापन सम्बन्धी निर्देशन दिएको छ ।
एसएलसी परीक्षालाई उद्देश्यमूलक, नियमित, शान्त, भयरहित तथा मर्यादित बनाउन प्रचलित ऐन नियम, परीक्षा संचालन निर्देशिका तथा वस्तुगत परिवेशका आधारमा संचालन गर्ने केन्द्राध्यक्षहरुलाई निर्देशन दिईएको हो । परिक्षा सञ्चालन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहन जिसी, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, प्रहरी नायव उपरिक्षक शम्भुप्रसाद ढकालले केन्द्राध्यक्षहरुलाई आचारसंहिताबारे जानकारी गराउनुभएको थियो ।
जिल्ला शिक्षा कार्यालयले सवै नियमित परीक्षार्थीहरु विद्यालयको पोषाकमा अनिवार्य रुपमा आउन सम्बन्धित विद्यालयमार्फत विद्यार्थीहरुलाई जानकारी गराउन, स्थानीय स्तरमा परीक्षा सहयोग समिति, समन्वय समिति जस्ता कानुनमा उल्लेख नभएका समिति गठन गरी सोको पदाधिकारीको नामबाट परीक्षाभित्र प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।
यस्तै, तोकिएको संख्याभन्दा बढी सहायाक केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी राख्न नपाईने, परीक्षा संचालन अवधिभर विद्यालयको कम्पाउण्ड बाहिरबाट चिया, खाजा लगायतका सामग्री ल्याउने वा खटिएका कर्मचारी भित्रबाहिर गर्न नपाउने, परीक्षा संचालन अवधिभर विद्यालयको नियमित कार्यालय कक्ष, पुस्तकालय, कम्प्युटर ल्याब, पुस्तकालय अनिवार्य रुपमा बन्द गर्नुपर्ने, परीक्षा संचालन अवधिभर विद्यालयको मूल गेटमा खुल्ला राख्नुपर्ने र अन्य सवै सहायक गेटहरु बन्द गर्नुपर्ने नियम बनाईएको छ ।
यसैगरी, परीक्षा केन्द्रभित्र नियमित रुपमा खटिएका कर्मचारीहरु मध्ये केन्द्राध्यक्षबाहेकका सवै कर्मचारीले मोवाईल फोन परीक्षा अवधिभर स्वीच अफ गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यार्थीलाई परीक्षा केन्द्रमा मोवाईल ल्याउन प्रतिवन्ध लगाउनुका साथै जवर्जस्ती लुकाएर ल्याएमा वा भेटिएमा जफत गरिने नियम बनाईएको छ । सीट प्लानिङ गर्दा केन्द्रमा रहेका सवै विद्यार्थीहरु छ्यासमिसे रुपमा राख्नुपर्ने र कक्षाकोठा बाहिर विद्यालयको नाम र परीक्षार्थीको संख्या खुल्ने गरी विवरण टाँस्न निर्देशन दिईएको जिल्ला शिक्षा कार्यालय लमजुङको परिक्षा शाखाका प्राविधिक सहायक सुरेन्द्र मण्डलले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा कार्यालयले प्रत्येक परीक्षा केन्द्रमा ३३ प्रतिशत महिला निरीक्षकको ब्यवस्था गर्नुपर्ने भनेको छ । परीक्षा संचालनपूर्व अनिबार्य रुपमा विद्यार्थीहरुलाई प्रवेशद्धारामा परीक्षामा निशेध गरिएका सामग्रीहरु भए नभएको जाँचबुझ गरी यकीन गरेर भित्र पस्न दिन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ । जिल्ला शिक्षा कार्यालयको निर्देशन र केन्द्राध्यक्ष निर्देशन पुस्तिकामा उल्लेख भए अनुसारको कार्यहरु पालना गर्ने जिल्ला शिक्षा कार्यालयले निर्देशन गरेको छ । निर्देशन तथा कार्यप्रक्रियाको पालना नगरिए केन्द्राध्यक्षसहित सवैलाई शिक्षा ऐन, नियमावली अनुसार कारवाही गरिने जिल्ला शिक्षा कार्यालय लमजुङले जनाएको छ ।
यही चैत १८ गतेबाट हुने परीक्षामा जिल्लाभरबाट सामुदायिक ८०, संस्थागत १५, खुला विद्यालयतर्फ एउटा गरि कुल ९५ विद्यालयका विद्यार्थी परिक्षामा सहभागी हुँदैछन् । यसबर्षको एसएलसी परीक्षामा ४ हजार ८४ जना विद्यार्थीले परिक्षा दिदैं छन । नियमिततर्फ ३ हजार ४ सय, आंशिकतर्फ ६ सय ८४ र खुल्लाबाट ४१ जना सहभागी हुने शिक्षा कार्यालयले जनाएको छ । परिक्षाका लागि जिल्लाभर १८ ओटा परीक्षा केन्द्र तोकिएको छ ।जिल्ला शिक्षा कार्यालय