सावधान अब तपाई भाग्न सक्नुहुन्न गल्तीबाट / ट्राफिकको छातीमै क्यामरा जडान
काठमाडौं, १७ चैत/
के तपाई गाडि वा बाइक चलाउँदा ट्राफिकले नदेखेको भनेर गल्ती गरर भाग्न खोज्दै हुनुहुन्छ । सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान अब त्यो सम्भव हुने छैन / किनकी चालकको गल्तीको अडियो र भिडियो रेकर्ड गर्नमिल्ने क्यामरा सडमा रहेको ट्राफिकको छातीमै जडान गरिंदैछ ।
तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए । क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन् ।
‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनााए । ‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’ उनले भने, ‘अफिस जाने र फर्कने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन्, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो/भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उनले बताए ।
अर्यालका अनुसार ‘गोप्रो’ क्यामराले ५ मिटरसम्मको अडियो रेकर्डिङ र लामो दूरीसम्म तस्बिर कैद गर्नेछ । ‘लेन मिच्ने र उल्टै ट्राफिकले त्यतिकै कारबाही गरेको भनेर जिद्दी गर्नेलाई प्रमाणसहित देखाउन नयाँ रणनीति अपनाएका हौं,’ उनले भने, ‘भाग्यो भने पछ्याउनलाई मोटरसाइकलसमेत उपलब्ध गराएका छौं ।’
पछिल्लो पटक लेन मिच्ने चालक संख्या निकै बढेको उल्लेख गर्दै उनले अत्यधिक संख्यामा कारबाहीसमेत गरेको बताए । सादा पोसाकका प्रहरीलाई पनि सडकका विभिन्न स्थानमा परिचालन गरिएको छ । ‘प्रत्येक चोकमा ३० जना सादा पोसाक ट्राफिक प्रहरी परिचालन गरेका छौं,’ उनले भने, ‘ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्नेलाई तत्काल उनीहरूले नै कानुनी दायरामा ल्याउनेछन् ।’
ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन पोसाकबाहेकका प्रहरीलाई ड्युटीमा खटाउनु परेको उनको भनाइ छ । पुतलीसडक–माइतीघर, थापाथली–माइतीघर, माइतीघर–टेकु, माइतीघर–नयाँबानेश्वर चोकसम्म विभिन्न स्थानमा त्यस्ता प्रहरी परिचालन गरिएको उनले बताए । ‘करिब पाँच स्थानमा सादा र छातीमा क्यामरा जडित प्रहरी राखेका छौं,’ उनले भने, ‘माइतीघर मण्डलामा मुभी क्यामरासमेत जडान गरिएको छ ।’
