कांग्रेस संसदीय दलको नेतामा देउवाबिरुद्ध प्रकाशमान
काठमाडौं, १५ चैत ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग निवर्तमान महामन्त्री प्रकाशमान सिंह चुनावी मैदानमा आउने भएका छन् । देउवाले संसदीय दलको नेता रामचन्द्र पौडेललाई दिन अस्वीकार गरेपछि उनको समुहबाट सिंह चुनावी मैदानमा आउने भएका छन् ।
सोमबार बसेको पौडेल समुहको बैठकले प्रकाशमान सिंहलाई संसदीय दलको नेतामा चुनाव लडाउने गरी छलफल गरेको छ । देउवाकाबिरुद्ध प्रकाशमान सिंह चुनावी मैदानमा आउने लगभग तय भएको स्रोतले बताएको छ । केही समयअघि मात्र सभापतिमा पराजित पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएका थिए । सहकर्मीको सुझावपछि पौडेल पछि हटेका छन् भने देउवालाई टक्कर दिन प्रकाशमान मैदानमा आउने भएका छन् ।
हालको गणितिय हिसावमा देउवासँग सुविधाजनक बहुमत छ । तर कांग्रेसभित्र ठुलो प्रभाव पार्ने खुमबहादुर खडका र कुलबहादुर गुरुङ अहिले असन्तुष्ट छन् । महाधिबेशनका बेला गुरुङलाई वरिष्ठ नेता र खडकालाई उपसभापति बनाउने आश्वासन देउवाले दिएका थिए । चुनाव जितेपछि देउवाले वास्ता गर्न छाडेका छन् । देउवाका ब्यवहारबाट असन्तुष्ट दुई नेताले देउवालाई सहयोग नगरे उनीसँग पर्याप्त बहुमत रहनेछैन ।
नेता रामचन्द्र पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन प्रकाशमान सिंह र डा. रामशरण महत देउवा निवास पुगेका थिए । तर देउवाले संसदीय दलको नेता दिन अस्वीकार गरेपछि पौडेल पक्षले पनि निर्विरोध हुन नदिने पक्षमा उभिएको छ । सोमबारको बैठकमा रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, महेश आचार्य, डा. रामशरण महत र मिनेन्द्र रिजाल सहभागि थिए ।
साभार –yeskathmandu.com बाट