
बिचौलियाको संरक्षणबाहेक सरकारले खासै केही गर्न सकेन : वर्षमान पुन
नेकपा माओवादीका उपमहासचिव तथा पुर्व मन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारले बिचौलियाको संरक्षण गर्ने बाहेक जनताको पक्षमा केही नगरेको बताएका छन् । उनले कांग्रेस नेता गगन थापाले ढिलै भएपनि सत्य बोलेकोमा धन्यवाद समेत दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो तर्क गरेका हुन् । धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायहरूमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ।
उनले सरकार बिचौलियाको हितमा काम गरिरहेको छ भनेर आफूहरूले भनेपछि ‘सरकारबाट हट्दाको छटपटी’ भन्दै आरोप लागिरहेकोप्रति आक्रोश व्यक्त गरे । उनले प्रतिपक्षी मात्र होइन, आम नेपाली नागरिकले समेत वर्तमान सरकारलाई ‘दलाल, बिचौलिया र स्वार्थ समूहको सरकार’ भन्दै आएको उल्लेख गरे ।
उनले भने, ‘१० महिनासम्म सरकारले दलाल र बिचौलियाहरूको संरक्षण र प्रतिपक्षी दल तथा नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन। धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायहरूमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग छ। हामीले यो सरकार बिचौलियाको हितमा काम गरिरहेको छ भनेपछि सरकारबाट हट्दाको छटपटी भनियो। आज हामी मात्र होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर यो सरकार दलाल, बिचौलिया र स्वार्थ समूहको हो भनेर भनिँदैछ।’