औद्योगिक क्षेत्रमा बढ्यो विद्युत् अवरोध

मूलखबर संवाददाता
काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको सूचित गरेसँगै औद्योगिक ग्राहकले दैनिक १२ घण्टासम्मको विद्युत् आपूर्ति अवरोध बेहोर्न थालेका छन् । गत सातादेखि नै भारतबाट अपेक्षित परिमाणमा विद्युत् आपूर्ति हुन नसकेपछि औद्योगिक ग्राहकको विद्युत् आपूर्ति अवरोध बढेको हो ।

प्राधिकरणले बुधबार विद्युत् व्यवस्थापनको तत्कालको अवस्थाबारे गराएको सार्वजनिक जानकारीपत्रमा औद्योगिक ग्राहकको विद्युत् आपूर्तिमा समस्या बढेको भन्दै क्षमायाचनासमेत गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष उद्योगी पशुपति मुरारकाका अनुसार अहिले उद्योगका दैनिक १२ घण्टासम्म लोड कटौती गरिएको छ । “प्राधिकरणमा नयाँ नेतृत्व आएसँगै उद्योगीले सहज विद्युत् आपूर्ति पाइन्छ कि भन्ने आशा थियो तर विद्युत् अवरोध विगतमा जस्तै भइरहेको छ,” उहाँले भन्नुभयो ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारूले पनि सिमेन्ट उद्योगीले दैनिक करिब १२ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको बताएको जानकारी दिनुभयो । “सरकारले उद्योगको यो समस्याको तत्काल समाधान खोज्नु पर्छ, हामीले दुःख पायौँ,” उहाँले भन्नुभयो ।

प्राधिकरणका अनुसार नदीनालामा पानीको बहाब कम हुँदा जलशय तथा सौर्य ऊर्जासमेत गरी आन्तरिक उत्पादन औसत एक हजार १७५ मेगावाटसम्म पुगेको जनाएको छ । भारतबाट अपेक्षित परिमाणमा विद्युत् आपूर्ति हुन नसकिरहेको प्राधिकरणको भनाइ छ ।

सूचना अनुसार नेपालले छिमेकी मुलुक भारतबाट पिइसीमार्फत बेलुका ६ बजेदेखि बिहान ६:०० बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकामा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ बजेसम्म जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको छ । भारतमा आइपिएल खेल जारी रहँदा माग बढेकाले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) को दररेट पिइसीको दररेटभन्दा बढी भएको र विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दासमेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ । प्राधिकरणका अनुसार देशभित्र ४४ हजार ६८३ मेगावाट घण्टा विद्युत् माग हुन्छ तर भारतबाट आयात गर्दा पनि पिक आवरमा करिब पाँच सय मेगावाट विद्युत् अभाव हुन्छ । मध्यरातमा आइइएक्सबाट विद्युत् किन्न खोज्दासमेत खरिद गर्न नपाएको जिकिर प्राधिकरणको छ ।