
टिकटकले हटायो ९ महिनामा नेपालका ३१ लाख भिडियो
टिकटकले गत वर्षको अप्रिलदेखि डिसेम्बर ९ महिनामा नेपालका ३१ लाख भिडियो हटाएको छ । सामाजिक रूपमा अपाच्य भएको अर्थात् ‘कम्युनिटी गाइडलाइन्स’ पूरा नगरेको स्विकार्दै ९ महिनामै टिकटकले नेपालका ३१ लाख ३१ हजार ८४ वटा भिडियो हटाएको हो ।
सन् २०२४ को तेस्रो त्रैमास (जुलाई, अगस्ट र सेप्टेम्बर) मा ९ लाख ७५ हजार ६ सय ७७ र चौथो त्रैमास (अक्टोबर, नोभेम्बर र डिसेम्बरमा) नेपालबाट १४ लाख ७६ हजार ८ सय ६२ वटा भिडियो हटाइएको कम्पनीले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ मा उल्लेख गरेको छ ।
त्यसअघि सन् २०२३ नोभेम्बर (२०८० कात्तिक) देखि सन् २०२४ अगस्ट (२०८१ भदौ) सम्म नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लगाएको अवधिमा पनि प्लाटफर्मबाट थुप्रै भिडियो हटाइएको देखिन्छ । अर्थात् प्रतिबन्ध खुल्नुअघिको त्रैमास (सन् २०२४ को अप्रिल, जुन र जुलाई) मा ६ लाख ७८ हजार ५ सय ४५ भिडियो हटाइएको थियो ।