म्यान्मारकी नेतृ आंग सान सू ची विदेशमन्त्री बन्ने

काठमाडौं ,१० चैत ।

म्यान्मारकी नेतृ आंग सान सू ची त्यहाँको विदेशमन्त्री बन्ने भएकी छन् ।

myanmarसू चीको पार्टी नेशनल लीग डेमोक्रेसी (एनएलडी) ले गत नोभेम्बर महिनामा भएको आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको थियो ।

म्यान्मारको संविधान अनुसार सू ची राष्ट्रपति बन्न नपाउने भएपछि उनले कुनै मन्त्रालय पनि नसम्हाल्ने अनुमान गरिएको थियो ।

तर नवनिर्वाचित राष्ट्रपति थिन क्यावले संसदमा पेश गरेको १८ व्यक्तिको नाममा उनको नाम पनि छ ।

बीबीसीका अनुसार सू चीले विदेश मंत्रालय साथै ऊर्जा, शिक्षा र राष्ट्रपति कार्यालय सम्बन्धी मन्त्रालयको कार्यभार सम्हाल्नेछिन् ।

यसअघि म्यान्मारका सैनिक शासकले बनाएको संविधान अनुसार परिवारका सदस्य विदेशी नागरिक भएका व्यक्तिले राष्ट्रपति बन्न नपाउने उल्लेख छ । सू चीका दुवै छोरा ब्रिटिश पासपोर्टधारी हुन् ।

राष्ट्रपतिले संसदमा पेश गरेका १८ मन्त्रीको नाममध्ये १५ जनाको नाम सू ची स्वयमले सिफारिस गरेको र तीन जनाको नाम सैनिक प्रमुखले दिएको बताइएको छ ।