बेलायती राजकुमार बर्दियामा

काठमाडौं , ८ चैत ।

timthumb

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी यहाँ आइपुगेका हुन् ।

राजकुमार ह्यारी यहाँ आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिएका थिए । निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो । प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राखने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनेछन । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ । यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन् । आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउने कार्यक्रम रहेको  छ । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्  । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।- रासस