संविधान कार्यन्वयका लागि अझै एक दशक राष्ट्रिय एकता जरुरी छ -प्रचण्ड

दोलखा   २,  चैत   ।

indexएमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यन्वयका लागि अझै एक दशक राष्ट्रिय एकता जरुरी रहेको बताएका छन् ।  दोलखास्थित हाम्रो रेडियोको बार्षिक उत्सव कार्यक्रममा मंगलबार अध्यक्ष प्रचण्डले रष्ट्रिय एकता नभै संविधान कार्यन्वयनमा चुनौती रहेको बताए ।

उनले राष्ट्रिय एकताको प्रयास आफैले थाल्ने पनि बताए । ‘नेपाली काङ्ग्रेसको सभापति शेरबादुर देउवा भैसक्नु भएको छ, अब सहमतिको प्रयास अघि बढ्छ ।’
अध्यक्ष प्रचण्डले भारतले नाकाबन्दी गरेको तर, अन्तर्राष्ट्रिय जगतलाई भने ढाँटेकोमा रुष्टता प्रस्तुत गरे ।

नाकाबन्दले राष्ट्रिय उत्पादन तहसनहस भएकाले अर्बौको क्षेती बेहोर्नु परेको र जनताले दुःख पाएता पनि सहेर राष्ट्रियता प्रस्तुत गरेकोमा अन्तराष्ट्रिय जगत चकित भएको उनले बताए ।

‘नेपाली जनताले दुःख पाए, तर भारतले पनि शान्ति पाएन, उसले अन्तर्राष्ट्रिय खेद बेहोर्नु पर्‍यो,’ प्रचण्डले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले नेपालीको परनिर्भरता हटाउने खालका सम्झौताहरु गर्ने छलफल भैरहेको उनले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले माथिल्ला तामाकोसी जलविद्युत् आयोजना र हालै नर्वेजियनले छाडेको तामाकोसी ३ जलविद्युत् आयोजना फास्ट ट्रयाकबाट अघि बढाउन आफुले पनि पहल गर्ने बताए ।

हालैको मन्त्रिपरिषद् बैठकले उर्जा संकटन टार्न फास्ट ट्रयाक नीति अवलम्बन गरेकोले जलस्रोत विकासमा ढोका खोल्ने आसा व्यक्त गरे ।

सामुदायिक रेडियो र अन्य संचारमाध्यमको विकासले जनता र राष्ट्रको जनचेतना अभिवृद्धि हुँदै गएको तर सञ्चार जगतसँग केही गुनासाहरु रहेको बताए । ‘सञ्चार जगतले निरासा हैन आसा जगाउने, विखण्डन हैन राष्ट्रिय एकता कायम गर्ने सन्देश फैलाउनु दायित्व हो तर तराईका केही सञ्चारमाध्यमले अपेक्षा गरिएभन्दा फरक भूमिका प्रस्तुत गरे,’ अध्यक्ष प्रचण्डले खुला र स्वतन्त्र सञ्चारमाध्यम भन्दैमा देशै टुक्र्याउने खालको अफवाह फैलाउने कार्य भैरहेको पाउदा दुःख लागेको बताए ।

कार्यक्रममा एमाले सभासद् पशुपति चौलागाईंले मुलुकको विकासमा आमसञ्चारमाध्यमको भूमिका अग्रणी भएकोले यसको विकासमा जोड दिनुपर्ने बताए । संसद पार्वत गुरुङले राष्ट्रले जिम्मेवार प्रेसको परिकल्पना गरेकोले राष्ट्र र जनताप्रति बफादार भएर काम गर्न पत्रकारलाई सुझाव दिए ।