भीमफेदीमा जिप दुर्घटना: मृत्यु हुनेको संख्या ३ पुग्यो, ७ जना घा*इते

मूलखबर संवाददाता
मकवानपुर, ३ मंसिर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।

बुधबार (मंसिर ३ गते) बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।

दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी सबै घाइ*तेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो।

अस्पतालमा बिहान ९:२० बजे चिकित्सकले तीन जनालाई मृ*त घोषणा गरेका हुन्। बाँकी सात जना घा*इतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।#