रूसको साताव्यापी भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

मूलखबर संवाददाता
काठमाडौं, ३ मंसिर

काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूसको साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

रूस भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। भ्रमणका क्रममा प्रचण्डले विभिन्न राजनीतिक भेटघाट तथा कार्यक्रममा सहभागिता जनाएको बताइएको छ।

प्रचण्डले रूसको राजधानी मस्कोमा सन् २०२६ नोभेम्बर १४ देखि १७ सम्म आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएका थिए।

रूसको सत्तारूढ दल युनाइटेड रसियाद्वारा आयोजित सम्मेलनमा ७६ देशका ४८० राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनलाई प्रचण्डले दुईपटक सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा उनले प्रत्येक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै राजनीतिक स्वतन्त्रता आर्थिक नीति र विकासका प्राथमिकता आफैं तय गर्न पाउने अधिकारसँग पनि जोडिएको बताएका थिए।

विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको सन्दर्भमा सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था आवश्यक रहेको उनको धारणा थियो।

प्रचण्डको भ्रमणलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा नेपालको राजनीतिक प्रतिनिधित्व र विभिन्न देशका राजनीतिक शक्तिहरूसँगको संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।