दुई पुर्व श्रममन्त्री र सचिव पक्राउ, यस्तो छ कारण
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा २ पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन्।
प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७९ हजार ८ सय ८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउने निर्णय गरिएको थियो।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाट समेतको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
पूर्वमन्त्रीहरूसहित सबै ६ जनालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।





