निरन्तरको वर्षाका कारण मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

मूलखबर संवाददाता
काठमाडौं, १० असाेज

निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि लमजुङको ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले आज विद्युत् उत्पादन बन्द गरी टर्वाइनको सफाइ थालेको छ ।

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा सफाइको काम थालेको हो । आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार मस्र्याङ्दी नदीमा निरन्तर पानीको बहाव बढेसँगै बालुवा बढी आउन थालेपछि विद्युत् उत्पादनमा असर पर्नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिएर आयोजना ‘सटडाउन’ गरिएको हो ।

“नदीमा पानीसँगै बालुवा धेरै आइरहेको छ । यसले टर्वाइनमा असर पार्नसक्ने भएकाले आज दिउँसोदेखि आयोजना ‘सटडाउन’ गरेर दुईवटै टर्वाइनमा बालुवा सफाइको काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार टर्वाइनको बालुवा सफाइको काम सम्पन्न गर्न कम्तीमा चारदेखि पाँच घण्टा लाग्नेछ । सफाइको काम सकिएपछि अवस्था हेरेर विद्युत् उत्पादन पुनःसञ्चालन गरिनेछ । मध्य–मर्स्याङ्दी लमजुङमा निर्माण भएको पहिलो ठूला जलविद्युत् आयोजना हो । आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट कुल ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले पनि आज बिहान करिब तीन घण्टा विद्युत् उत्पादन बन्द गरी दुवै टर्वाइनको सफाइ गरेको छ । आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार २५/२५ मेगावाट क्षमताका दुवै टर्वाइन खोलेर पानी निकाली बालुवा सफाइ गरिएको हो ।

“मर्स्याङ्दीमा बालुवा धेरै आएको र त्यसले गर्दा टर्वाइनमा जोखिम बढ्नसक्ने भएकाले करिब तीन घण्टा विद्युत् बन्द गरेर दुवै टर्वाइन खोली पानी निकालेर बालुवा सफाइ गरेका हौँ”, उहाँले भन्नुभयो । सफाइको काम सम्पन्न भएपछि अहिले विद्युत् उत्पादन पुनःसञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।