आजको माैसम : पुर्वमा क्रमशः कम, पश्चिम नेपालमा भारी वर्षा हुन सक्ने

मूलखबर संवाददाता
काठमाडौं, १० असाेज

नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना रहेको विभागले जनाएको छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमश: पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार भोलि साँझसम्म पनि पश्चिम क्षेत्रमा वर्षाको सम्भावना छ । भोलि दिउँसो वा साँझदेखि पूर्वी भूभागमा मौसममा उल्लेखनीय सुधार देखिने उनले बताए । कतै कतै बादल लाग्ने र हल्का वर्षा हुने भए पनि ठूलो पानी नपर्ने उनको भनाइ थियो ।

पूर्वमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । तर पश्चिममा भने आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ,’ लामिछानेले भने ।