टी-२० विश्वकपकाे पहिलाे खेलमा नेपाल ४ रनले पराजीत, इंगल्याण्ड विजयी

मूलखबर संवाददाता
काठमाडौं, २५ माघ

टी-२० विश्वकपमा  भएकाे पहिलाे खलमा नेपाल अत्यन्तै कम रनले पराजीत भएकाेछ  । आइतबार भएकाे पहिलाे खेलमा नेापल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको हाे । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो ।

मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए । त्यही नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो । लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्र सामु विजयको मुखमा पुगेर रोकिएको थियो ।

अन्तिम ओभरमा विजयका लागि १० रन चाहिने अवस्थामा नेपालले ५ रनमात्र बनाउन सक्यो ।

कुशल भुर्तेल र आसिफ शेखले ४ ओभर भित्र ३७ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । एक चौका प्रहार गरेका आसिफ ९ बलमा ७ रन बनाई आउट भए । दोस्रो ओभर देखि निकै आक्रामक खेलेका कुशलले १७ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।

ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७-३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए ।

बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।