प्रभु बैंककाे कामु सिइओेकाे जिम्मेवारी लम्साललाई, बैंकका सबै सेवा यथावत रहने जानकारी
प्रभु बैंककाे कायममुकायम प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी निरज लम्सालले पाएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सिसिओ) रिवास श्रेष्ठलाई पनि पक्राउ गरेपछि बैंकको सञ्चालक समितिले लम्साललाई कामु सिइओकाे जिम्मेवारी दिएकाे हाे । साे कुरा बैंकका सुचना अधिकृत रविन्द्र ढकालले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा प्रहरीले प्रमुख कार्यकारीसहित अन्य कर्मचारी प्रहरीको अनुसन्धानमा रहेकाले वरिष्ठतम् कर्मचारी लम्साललाई सिइओकाे जिम्मेवारी दिइएको उल्लेख गर्दै साे अनुसन्धान प्रक्रियाबाट बैंककाे दैनिक गतिविधि र कार्यसम्पादनमा कुनै असर नपर्ने बताइएको छ ।
बैंकले निक्षेपकर्ता, शेयरधनी र बचतकर्ता सबैलाई विश्वस्त हुन र साथ तथा सहयोगकाे निरन्तरताकाे अपेक्षा गरेको छ ।
आइतबार केन्द्रीय कार्यलयबाटै सिआइबीले प्रभु बैंकका तीन जनालाई पक्राउ गरेको थियाे ।





