एमाले महाधिवेशन प्रतिनिधि छनाैटमा कडा प्रतिस्पर्धा, एक दर्जन बढी जिल्लामा निर्वाचन, धनकुटामा ताेडफाेड

मूलखबर संवाददाता
काठमाडौं, १४ मंसिर

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको तिब्र दबाबमा परेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा कडा प्रतिस्पर्धा भएको छ । सबै जिल्लामा सर्वसम्मत गर्न प्रयास भए पनि एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको हो ।

शनिबार ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो ।

उपत्यकाका काठमाडौं र ललितपुरमा सर्वसम्मत प्रतिनिधि चयन गर्ने प्रयास भए पनि निर्वाचन भएको छ । भक्तपुरमा भने सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । काठमाडौंको निर्वाचन क्षेत्र १० मा सर्वसम्मत भए पनि नौ क्षेत्रमा निर्वाचन भएको छ ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको बताए । उनका अनुसार धनुषा, महोत्तरी, मकवानपुर, कञ्चनपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, झापा, रुकुम पश्चिम, मोरङ, लमजुङ, तनहुँ र गोरखालगायत जिल्लामा प्रतिनिधि चयन गर्न चुनाव भएको छ, ।

धनकुटामा प्रतिनिधि छनाैटमा धाँधली भएको भन्दै कुटपिट र कार्यलय ताेडफाेड गरिएको छ ।

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने एमालेको महाधिवेशनमा करिब दुई हजार ३ सय प्रतिनिधिले भाग लिनेछन् । सबै जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्रबाट एक हजार दुई सय सदस्य बराबर एक प्रतिनिधि, त्यसमा ४० वर्षमुनिका एक युवा हुनुपर्ने र कम्तीमा एक जना महिलासहित ४ प्रतिनिधि छानिने विधि तय भएको छ ।

महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य ३ सय ५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्बाट २५ सीधै चयन हुने व्यवस्था एमालेकाे विधान अधिवेशनमा पारित गरिएको थियाे ।

एमालेकाे अध्यक्ष पदमा केपी ओलीको विरूद्व उमेदवार बन्ने घाेषणा वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले गरेपछि प्रतिनिधि छनाैटमा पनि कडा प्रतिस्पर्धा देखिएकाे हाे ।