सिमरा : जेनजीकाे माग ९ जना पक्राउ गर्नुपर्ने, कुटपीटमा संलग्न २ वडाध्यक्ष पक्राउ
बारा जिल्लाकाे सिमरामा जेनजी युवाहरूलाई कुटपिटमा संलग्न भएको आरोप लागेका एमालेका दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जेनजी युवाहरूले ९ जना आक्रमणकारी एमाले कार्यकर्तालाई पक्राउ गरी कार्वाही गर्न किटानी जाहेरी दिन माग गरेकाे थियाे । प्रहरीले २ जना पक्राउ गरे पनि प्रदर्शन थामिएन । स्थिति तनावपूर्ण भएपछि प्रशासनले अपराह्न पौने १ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु लगायो ।
परवानीपुरमा बुधबार एमालेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जहाजमा सिमरा विमानस्थल हुँदै आउने थाहा पाएपछि त्यसको विरोधमा जेन–जीलगायतले प्रदर्शन गरेपछि एमाले कार्यकर्तासँग झडप भएको थियो । त्यसक्रममा ६ जना जेनजी संयाेजक सम्राट उपाध्यायसहित प्रदर्शनकारी घाइते भएका थिए ।
कुटपिट गर्ने एमाले कार्यकर्ता पक्राउको माग गर्दै बिहीबार साढे १० बजेदेखि सिमरा चोकमा भेला भएका जेन–जीलगायतले आक्रामक प्रदर्शन थालेका थिए । इलाका प्रहरी कार्यालय सिमरामा प्रहरी भेट्न आएका जितपुर–सिमरा उपमहानगरमा एमालेबाट निर्वाचित वडा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । जेन–जीका बारा संयोजक सम्राट उपाध्यायले कुटपिटको आरोपमा उनीहरू दुईसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।





