जेनजी आन्दोलन असर : २३ अर्ब बीमा दावी, हालसम्म ४ अर्ब भुक्तानी

मूलखबर संवाददाता
काठमाडौं, २५ कात्तिक

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरूद्वमा उठेकाे भदौ २३ गतेको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको साढे २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा पौने ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

कात्तिक २४ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये सोमबारसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँबराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । यो परेको कुल दाबीको करिब १५.६९ प्रतिशत मात्र हो । गत सोमबारसम्म बिमा कम्पनीहरूमा ३ हजार २ सय ४६ वटा दाबी परेका छन् ।

सोमबारसम्मको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ । यो बिमामा ६ सय ९३ वटा दाबीमा १९ अर्ब ४ लाख ९ हजारको माग दाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा ६८ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको खबर कान्तिपुरमा छ ।