दोलखामा विदेशीसहित १५ जना आरोहीको टोली हिमपहिरोमा, ३ जनाकाे निधन
दोलखाको यलुङ रि हिमाल आरोहणका लागि गएको विदेशी र स्वदेशीसहित १५ जना आरोहीको टोली हिमपहिरोमा परेको छ। जिल्लाको रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्पनजिकै आज सोमबार हिमपहिरोमा परेका हुन्।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार ३ जना निधन भएको एकिन भएको छ।
‘हिमपहिरोमा ३ जना विदेशी नागरिकको निधन भएको भनेर विवरण खुलेको छ,’ उनले नेपालखबरसँग भने, ‘निधन हुनेमा क्यानडा, जर्मनी र फ्रान्सका नागरिक छन्। ८ जना बेपत्ता छन्। बेपत्ता हुनेमा नेपाली पनि रहेको बुझिएको छ। यहाँ ४ जना घाइते पनि छन्। उनीहरूको उद्धार प्रयास भइरहेको छ।’




