माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक राजधानीमा शुरू, प्रचण्डद्वारा राजनीतिक प्रस्ताव प्रस्तुत
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक आजदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
दुई दिनसम्म चल्ने यो बैठक जेन जेड आन्दोलनपछि देशमा विकसित नयाँ राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्ने र आगामी महाधिवेशनका सम्बन्धमा ठोस निर्णय लिने तयारीसहित आयोजना गरिएको हो ।
केन्द्रीय समिति बैठककाे एजेन्डा हिजाे बसेकाे स्थायी समितिले तयार गरेकाे जानकारी प्रवक्ता अग्नी सापकोटाले दिनुभएको थियाे ।
बैठकमा प्रस्तुत हुने प्रतिवेदन र प्रस्तावमाथि छलफलपछि महाधिवेशन र संगठनात्मक पुनर्संरचनाबारे औपचारिक निर्णय हुने र यसले पार्टीलाई नयाँ दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।
यो बैठकले पार्टीको भविष्य, देशको बदलिँदो राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका र नयाँ पुस्ताको मागअनुसार नीति तथा कार्यक्रम अद्यावधिक गर्ने दिशामा महत्त्वपूर्ण निर्णय गर्ने सबैको ध्यान केन्द्रित भएको छ ।
यस्ता छन् एजेन्डाहरू –
श्रद्धाञ्जली
अध्यक्ष प्रचण्डबाट प्रस्ताव
पदाधिकारीबाट धारणा
समुहगत छलफल र समुह नेताबाट धारणा
केन्द्रीय समितिलाई महाधिवेशन आयाेजक समितिमा रूपान्तरण प्रस्ताव
विशेष महाधिवेशन
निर्वाचन बारे
एकता र ध्रुवीकरण
जेनजी आन्दोलनमा भएको क्षति र पुनर्निर्माण बारे
दशै लगायतका चाडपर्वबारे
विविध





