विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले लिए अनुमति
म्याग्दीस्थित विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि सन् २०२५ को चालु शरद याममा २४ जनाले अनुमति लिएका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।
पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।
शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।
गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।




