आज संविधान दिवस, यसरी मनाईँदैछ देशभर
आज २०८२ साल असाेज ३ गते । आज दशाैं संविधान दिवस । आज भन्दा १० वर्ष पहिले अर्थात २०७२ असाेज ३ गते आजकै दिन नेपालकाे इतिहासमा पहिलोपटक संविधानसभाबाट संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे संविधान जारी भएको दिन ।
आज देशभर सरकार, राजनीतिक दलहरू, नागरिक समाज र विभिन्न क्षेत्रमा क्रियाशील नागरिकहरूले स्वदेश र विदेशमा विविध कार्यक्रमका साथ मनाउन लागिएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले पेरिसडाँडास्थित कार्यलयमा संविधान दिवस मनाउँदै छ भने पत्रकार सम्वद्व संस्थाहरूले माइतीघरमा कार्यक्रम गरि मनाउने भएका छन् ।
आज देशैभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।





