पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख, ९ बजे सपथ

मूलखबर संवाददाता
काठमाडौं, २७ भदाै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख नियुक्त हुने भएकी छीन् । कार्कीलाइ नेतृत्व दिने विषयमा हिजाेदेखी लगातार छलफल भएकाे थियाे । शुक्रबार साँझ अबेर यस विषयमा सहमति जुटेको हाे । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै राती ९ बजे  सपथ गर्नेगरी नियुक्त गरेका हुन् ।

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् ।

यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।

कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । पोखरेलले भने, ‘यसबारे कार्कीको नियुक्तिसँगै औपचारिक जानकारी आउनेछ ।’

यसअघि भदौ २३ र २३ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।