देश जलेर सकिएपछि अन्तत: केपी ओलीले दिए राजीनामा

मूलखबर संवाददाता
काठमाडौं, २४ भदौ ।

अन्ततः केपी ओलीले राजीनामा दिएका छन् । हिजो १९ जना युवाको ज्यान जानेगरी गोलीकाण्ड र हत्याकाण्ड मच्याएको अभियोग लागेका प्रधानमनत्री के पी ओलीले निरंकुश तानासाहको परिचय बनाएका थिए ।

आज विहानै देखी कर्फ्यु थप्दै सत्ता लम्बाउने खेलमा लागेपछि देशव्यापी त्यसको प्रतिरोध हुन थालेको थियो । चौतर्फी राजीनामाको दबाब बढिरहेको बेला सिंहदरबार र ससद भवन समेत प्रदर्शनकारीले कब्जा गरेपछि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । उनले राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ ।

 

‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ । जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य भएका हुन् ।