जनताको उत्साहले माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताउनुभएको छ।
माओवादी केन्द्रका उपाध्यक्षहरू, महासचिवलगायतको उच्चस्तरीय टोलीसहित प्रचण्ड शनिबार लम्जुङको राइनास नगरपालिका आइपुग्दा स्थानीयवासीले बाजागाजा र परम्परागत लाखे नाचसहित भव्य स्वागत गरेका थिए।
अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ उर्जा थपिएको बताउनुभयो। उहाँले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा समेत जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमै बसेर उनीहरूको पीडा र अनुभव सुन्ने अभ्यास कायम राखिएको उल्लेख गर्नुभयो।
“हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं,” अध्यक्ष प्रचण्डले राइनासको तीनपिप्लेमा आयोजित कार्यक्रममा भन्नुभयो।
उनका अनुसार, अभियानका क्रममा कांग्रेस वा एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत स्वागत र सहयोग गर्ने परम्परा देखिएको छ। “ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन्। यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ,” प्रचण्डले स्पष्ट पार्नुभयो।
राइनासमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो भने अभियानका सहभागीहरूले यसलाई जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र सहानुभूतिको महाअभियानका रूपमा व्याख्या गरेका छन्।





