फर्कीए प्रधानमन्त्री ओली, शुरू भयाे विवाद, के भएकाे थियाे सहमति ?
प्रधानमन्त्री केपी शर्मा ओली चीनको ५ दिने भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् । चीनको तियानजिन सहरमा १५–१६ भदौमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिन चीन गएका उनले बेइजिङमा अायाेजित ८०अाैं विजयाेत्सव समाराेहमा परेडमा समेत सहभागी भएका थिए । सम्मेलनका क्रममा आयोजित एससीओ प्लसको बैठकलाई ओलीले सम्बोधन गरेका थिए ।
नेपालका विरलै प्रधानमन्त्रीले पाएकाे अवसर अाेलीले यसपटककाे भ्रमणमा पाएका छन् । उनले रूसी राष्ट्रपति पुटीनसँग पनि भेट गर्ने अवसर पाए ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार तियानजिनमा भएको वार्ता पछाडि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) जीएसआईलाई समर्थन गरेको चिनियाँ दाबीका कारण प्रधानमन्त्रीको भ्रमण विवादमा तानिएको थियो । जीएसआई चीनको सुरक्षा रणनीति हो । भेटवार्तापछि नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा भने जीएसआईबारे उल्लेख थिएन । नेपाली पक्षले ओली–सी भेटमा जीएसआईका विषयमा कुनै चर्चा नभएको र चिनियाँ विज्ञप्ति झूटो भएको दाबी गरेको छ ।
चीनबाट फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा परराष्ट्र सचिव अमृत राईले नेपालले जीएसआईलाई नभएर ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई) लाई मात्र समर्थन गरेको दाबी गरे । ‘अरू कुरामा समर्थन जनाएको छैन । त्यसमा स्पष्ट हुनुहोला । हाम्रा कुराहरू स्पष्ट राखेका छौं,’ उनले भने, ‘नेपाल सरकारको नीति जे छ, त्यही कायम हुन्छ ।’





