अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे ७ औं राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उदघाटन गर्ने
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे सातौं राष्ट्रिय सम्मेलन आज काठमाडौंमा शुरू हुँदैछ । राजधानीको प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । संगठनकी अध्यक्ष अमृता थापामगरले सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिएकी छिन् ।
“संपूर्ण मुक्तिकामी महिलाहरू एक होऔं” भन्ने नाराका साथ आयोजना गरिएको यस सम्मेलनमा मुलुकभरका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनमा महिला अधिकार, समानताको लागि संविधान कार्यान्वयन, समाजवादी आन्दोलन, महिला हिंसा विरुद्धको अभियान, सुशासन र सामाजिक न्यायको पक्षमा विस्तृत छलफल हुने आयोजकहरूले जनाएका छन् ।
संघका अनुसार सम्मेलनले पछिल्ला वर्षमा महिलामाथि बढ्दै गएको हिंसा, विभेद र अवसरमा भइरहेको असमानताको विरुद्धमा ठोस रणनीति तय गर्नेछ । त्यस्तै, आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा महिलाको पहुँच र सहभागिता कसरी बढाउने भन्ने विषयमा नीति र कार्यक्रम पारित गर्ने तयारी गरिएको छ ।
महिला संघ (क्रान्तिकारी) नेपालकाे माओवादी आन्दोलनसँग ऐतिहासिकरूपमा आबद्ध संगठन हो । यसले विगतदेखि नै महिला अधिकार र समानताको मुद्दालाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ । सम्मेलनमार्फत पार्टी र संगठनभित्र महिलाको नेतृत्व विकास, राजनीतिक सशक्तीकरण, वैचारिक स्पष्टता र आगामी आन्दोलनका रूपरेखाबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।
सातौं राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने पनि संघका नेतृहरूले बताएका छन् । वर्तमान नेतृत्वको कार्यकाल समाप्त भइसकेकाले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय समिति चयन गरिनेछ । संघभित्र विभिन्न क्षेत्रमा सक्रिय महिला कार्यकर्ताहरू नेतृत्वमा आउने विषयमा पनि छलफल भइरहेकाे छ ।
उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका साथै अन्य वामपन्थी दलका नेताहरू, महिला अधिकारकर्मी, समाजसेवी तथा विज्ञहरूको पनि उपस्थिति रहनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ र यस अवधिमा वैचारिक, राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिनेछ ।
महिला संघ (क्रान्तिकारी) ले सम्मेलनलाई सफल पार्न व्यापक तयारी गरेको जनाएको छ । सम्मेलनमा देशभरीबाट र विदेशबाट समेत प्रतिनिधीहरू सहभागी हुने बताइएकाे छ । सम्मेलनले ल्याउने नीति, कार्यक्रम र निर्णयहरूले महिला आन्दोलनलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ ।





