नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकृति

मूलखबर संवाददाता
काठमाडौं, १७ भदौ

लामाे समयदेखी हुन नसकेको नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ।

साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौता पत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको मन्त्रालयले जनाएको छ।

सन् २०१० देखि नै श्रम सम्झौताको प्रयास गरे पनि यसअघि साउदीले सम्झौता गर्न मानेको थिएन। पछिल्लो समय घरेलु कामदार समेत लैजाने गरी सम्झौता गर्न दबाब दिँदै आएको थियो। तर संसदको श्रम समितिले घरेलु कामदार खुला गर्न छुट्टै सम्झौता हुनुपर्नेमा जोड दिँदै आएको छ। यसबारे छुट्टै सम्झौता गर्न साउदी तयार छैन।

सन् २०३४ मा हुने फिफा विश्‍वकप आयोजनाको तयारीका लागि थुप्रै आप्रवासी श्रमिकहरू आवश्यक परेको र श्रमिकहरूको हकअधिकार हनन भएको विषयमा प्रश्न उठिरहेका कारण अहिले साउदी सम्झौता गर्न तयार भएको हो।