रुपन्देहीमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने, प्रचण्डले दिए यस्ताे निर्देशन

मूलखबर संवाददाता
बुटबल, १६ भदाै २०८२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो -“पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरु माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईहरु त्यसको तयारी गर्नुहोस् ।”

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरुप भएको बताउनुभयो । उहाँले ऐतिहासिक दृष्टान्त दिँदै भने, “असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।”

उहाँले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेताकार्यकर्ताहरु समक्ष राख्नुभयो ।

अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

“देशभरका वडाहरुबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाउनुपर्छ,” उहाँको भनाइ थियो।उहाँले जुनसुकै पार्टीका भए पनि गणतन्त्रमा योगदान दिने नागरिकलाई सम्मान गर्नुपर्ने र पार्टीले यसको स्पष्ट मापदण्ड तय गर्ने पनि जानकारी दिनुभयो ।

प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका “प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समिक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु राख्नुभएको छ । बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राख्नुभएको छ ।परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उहाँले बताउनुभएको छ ।