आज कुशे ओैंसी, बुबाको मुख हेर्ने दिन मनाइँदै

मूलखबर संवाददाता
काठमाडौं

पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व शनिबा देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउनुहुन्छ । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उहाँले बताउनुभयो ।