तामाङ साँस्कृतिक भवन तथा संग्रहालयकाे उद्घाटन, प्रचण्डको भर्चुअल सम्वाेधन, सांसद माझी सम्मानित

मूलखबर संवाददाता
लमजुङ, ६ भदौ

लमजुङको बेशिशहर नगरपालिका वडा नं ८ मा नवनिर्मित  तामाङ समुदायकाे साँस्कृतिक तथा संग्रहालय भवनकाे शुक्रबार उदघाटन गरिएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समितिकाे आयाेजनामा भएको कार्यक्रममा संघीय लाेकतान्त्रीक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख अतिथिकाे रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियाे ।

प्रचण्डको अनुमतिमा भाैतिक रूपमा कार्यक्रममा उपस्थित  माओवादी महासचिव देव प्रसाद गुरूङले पानसमा बत्ती बालेर कार्यक्रमकाे उदघाटन गर्नुभएको थियाे भने शिलापत्रकाे उदघाटन महासचिव गुरूङ र प्रतिनिधिसभा सदस्य उर्मिला माझीले संयुक्तरूपमा गर्नुभएको थियाे ।

कार्यक्रममा भवन निर्माणकाे लागि प्रतिनिधि सभा सदस्य उर्मिला माझीकाे नेतृत्व र पहलमा संघिय सरकारबाट बजेट उपलब्ध गराएकाे भन्दै साँसद माझीलाइ सम्मान गरिएको थियाे ।

कार्यक्रममा सम्बाेधन गर्दै प्रचण्डले तामाङ लगायतका आदिवासीजनजातिकाे अधिकार र पहिचानको लागि माओवादीले जनयुद्ध लडेकाे र संविधान बनाउँदै आगामी दिनमा पनि निरन्तर लागिरहने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि गुरूङले तामाङकाे इतिहास, पहिचानकाे चर्चा गर्नुभएकाे थियाे भने प्रतिनिधिसभा सदस्य माझीले तामाङ समुदायकाे संस्कृति र पहिचानकाे जगेर्ना र सम्मान स्वरूप आफुले छानेकाे याेजनामा हाल्न पाउने बजेट उपलव्ध गराएकाे बताउँदै समयमै काम सम्पन्न गरेकाेमा आयाेजकलाई धन्उवाद दिनुभएको थियाे । उहाँले आगामी दिनमा सक्दाे सहयाेग गर्ने बताउनुभएको थियाे ।

तामाङ घेदुङका अध्यक्ष हाेमराज तामाङकाे सभापतित्व र सचिव आशिष तामाङकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर तमु, प्रदेशका पुर्व मन्त्री मधु अधिकारी, माओवादी जिल्ला सचिव सुनिल सुनार लगायतकाे सहभागीता रहेको थियाे ।