लिपुलेकबारे भारत चीनले गरेकाे सहमतिमा सबै दलकाे विराेध, कसले के भने ?
नेपालकाे सहभागीता र सहमतिविना भारत चीनले लिपुलेकबारे गरिएको सहमतिबारे संसदमा रहेका सबै दलले विराेध जनाएका छन् ।
कुन दलका सांसदले के भने ?
कांग्रेस महामन्त्री गगन थापाले नेपाली भूमिबारे भारत र चीनले गरेको सहमति आपत्तिजनक र अस्वीकार्य रहेको बताए । ‘हाम्रो भूमिबारे भारत र चीनले गरेको सहमतिलाई नेपाली कांग्रेसले असहमति जनाउँछ, हामीलाई यो आपत्तिजनक र अस्वीकार्य छ । नेपालले यसको प्रतिवाद गर्छ ।´
एमाले प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेकबारे भारत र चीनको सहमतिको प्रतिवाद गर्ने बताए । ‘हाम्रो देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि आघात पुग्ने यो कार्यको हामी प्रतिवाद गर्छौँ । उच्चस्तरीय कूटनीतिक संवादबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछु । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो,’ बर्तौलाले भने ।
माओवादी नेता तथा दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा लिपुलेकबारे छिमेकी देशले गरेको सहमतिबाट नेपाललाई दुखेको बताए । ‘लिपुलेकबारे नेपाललाई जानकारी नदिई गरिएको सहमतिप्रति आपत्ति र विरोध गर्दछौँ । लिपुलेकबारे भएको भारत र चीनबिचको सहमतिपछि सरकारले चालेको कदमबारे संसद्मा जानकारी हुनुपर्छ । राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै नेपालको हितमा एकजुट हुन आह्वान गर्छौँ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भने, ‘लिपुलेक नेपाली भूभाग हो, तर छिमेकीहरूले प्रयोग गर्ने भनिएको छ । यस सन्दर्भमा सरकारले तत्कालै कूटनीतिक पहल थाल्नुपर्छ ।’
एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले यो विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गरे । ‘समस्या समाधानका लागि दुवै देशको ध्यानाकर्षण गराउनुपर्दछ । दुवै देशलाई विरोधपत्र दिनुपर्दछ । यो सहमति नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप र प्रहार भएकाले राष्ट्रिय हितको पक्षमा तत्काल कूटनीतिक र राजनीतिक पहल हुनुपर्छ,’ ज्वालाले भने ।





