गाैर हत्याकाण्डमा आराेपीहरूमाथी छानवीन प्रक्रिया अगाडि बढाउन सर्वोच्चले दियाे परमादेश
सर्वोच्च अदालतले तत्कालीन गाैर हत्याकाण्डमा आराेपी व्यक्तिहरूउपर छानविन गर्न परमादेश जारी गरेको छ ।
सर्वाेच्चले जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित गौर हत्याकाण्डमा जाहेरी दर्ता भएका व्यक्तिहरुमाथि छानबिन अघि बढाउन परमादेश जारी गरेको हाे ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन साेमबार आदेश दिएको हो ।
गाैर हत्याकाण्डमा माओवादीका २७ जना कार्यकर्तालाई विभत्स तवरले हत्या गरिएको थियाे । २०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।
२७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, मधेश प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत १ सय १३ जना आराेपित छन् ।
उक्त घटनाका पीडित परिवारका एक सदस्य त्रिभुवन साहले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । यही रिटमा सर्वोच्चले फैसला सुनाउँदै परमादेश जारी गरेको हो । सर्वोच्चले आदेशको जानकारी दिएपछि वा पूर्णपाठ फैसला कार्यन्वनयका लागि पठाएपछि प्रहरीले जाहरीमा टेकेर अनुसन्धान अघि बढाउनुपर्छ । यो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय हुँदै जिल्ला अदालत पुग्नेछ ।
मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए ।
तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन पारेर २०६३ चैत ७ मा रौतहटको गौरस्थित राइस मिलमा कार्यक्रम राख्दा झडप भएको थियो ।
विगतमा गाैर हत्याकाण्डका पीडितले अनसन र आन्दोलन गरेपछि साे विषयमा कानुनी प्रक्रिया अगाडि बढाउने सहमति सरकारसँग भएको थियाे ।





