प्रधानमन्त्री बनेको १४ महिनापछि भारत जाने भए ओली
प्रधानमन्त्री बनेको १४ महिनापछि केपी ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने भएका छन् । उनले भारतको औपचारिक भ्रमण गर्न लागेका हुन् । त्यस क्रममा उनले बाेधगयामा भारतीय समकक्षी माेदीसँग भेट्ने बताइएकाे छ । दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ ।
ओली दिल्ली भएर बोधगया जाने वा काठमाडौंबाट सिधै त्यहाँ पुग्ने भन्नेबारे स्पष्ट भइसकेको छैन । ओलीको भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव मिस्रीको भ्रमणबाट तय हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । भ्रमण तयारीका लागि विदेश सचिव मिस्री आइतबार काठमाडौं आउँदै छन् । उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । भ्रमणमा कुकुर उपहार दिने बताइएकाे छ ।
भारतीय सैन्य विमानबाट आइतबार अपराह्न काठमाडौं ओर्लिएर मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव अमृत राईसहितका उच्चपदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम छ । भेटघाट सकेर सोमबार उनी फर्किनेछन् ।





