नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी झिकाउने आदेश

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी झिकाउने आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार साक्षी झिकाउन आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। ‘बाँकी रहेका साक्षीहरूलाई म्याद जारी गरेर झिकाउन आदेश दिएको हो,’ उनले भने।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।

एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी रहेको मुद्दामा दुई वर्षपछि अदालतले निरन्तर सुनुवाइ गरेको हो। यसमा अब बाँकी रहेका साक्षीहरू उपस्थित गराएपछि पुन: सुनुवाइ हुनेछ।

भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए।