उत्तराखण्ड बाढीमा २६ नेपाली वेपत्ता भएको दुतावासको जानकारी

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन ।

भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्याबारे विभिन्न समाचार सार्वजनीक भइरहेका बेला नेपाली दुतावासले नयाँ तथ्यांक सार्वजनीक गरेको छ । उसले वेपत्ता नेपाली नागरिकको संख्या २६ जना पुगेको बताएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूचीमा रहेका छन् ।

दूतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यसैगरि दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार पाडीगढवालमा बेपत्ता भएकाहरूमा बर्दियाको मधुवन नगरपालिका ५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या, छोरा रोमन र अमृता परियार तथा गुलरिया नगरपालिकाका सुवास दमाई रहेका छन् । उनीहरु बुधबार पौडीगढवालको खैलीशैण क्षेत्रको बंकुरा गाउँमा परिरोमा परि बेपत्ता भएका हुन् ।

सडक निर्माणको काममा ज्यालादारी गर्न बंकुरा पुगेका उनीहरू सडक किनारमै टुण्ट गाडेर बसिरहेका थिए । बुधरबा टेन्टसहित उनीहरुलाई पहिरोले बगाएको हो । उनीहरूको खोजीका लागि आफन्तहरू समेत बंकुरा पुगेपनि नभेटिएपछि घर फर्किएका छन् । ‘अब भेटिने आश छैन, जति खोजेपनि कहीँ सम्भावना छैन,’ सुवासका बुवा सोम बहादुरले भने, ‘घर फर्केर किरिया गर्छौँ ।’ उत्तरकाशीमै काम गर्ने उनी छोरा बेपत्ता भएपछि शनिबार गढवाल पुगेका थिए । दुई दिन खोज्दा नभेटिएपछि घर फर्केका हुन् । नरेन्द्र र अमृताका परिवार पनि खोजी गर्दा नभेटिएपछि किरिया गर्न घर फर्केका छन् ।

उत्ररकाशीको धराली क्षेत्रमा मंगलबार आरिघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्रीमा मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।