कारागार पुगेका मानवअधिकार आयाेगकाे टाेलीसँग रविले के भने ?

मूलखबर संवाददाता
काठमाडौं, २७ साउन

कारागार र कैदीबन्दीको अवस्था निरीक्षण गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रूपन्देही कारागारमा रहेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसँग भेट गरेको छ ।

भेटमा लामिछानेले बसोबास र खानाको व्यवस्था राम्रो भए पनि एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको बताएका थिए । लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएका थिए ।

लामिछानेले कानुनी प्रक्रियाका लागि आफूलाई भेट्न आउने व्यक्ति, शुभेच्छुक र कार्यकर्तासित भेटघाटमा सहजता नभएको बताएका थिए । कारागारमा दैनिक पत्रपत्रिका नआउने भएकाले नियमित पढ्न नपाएको लामिछानेले गुनासो गरेका थिए ।

लामिछानेकाे गुनासाेपछि उनलाई कानुनअनुसार उचित सुविधा प्रदान गर्न उनलेे माग गरेका थिए । उनलाई राखिएको ब्लकका झ्याल प्लाइउडले टालिएका छन् । ती झ्यालका प्लाइउड हटाएर हावा छिर्ने वातावरण बनाउनुपर्ने मानअधिकार आयुक्त लिलि थापाको भनाइ छ । आफूले ध्यानाकर्षण गराएपछि कारागार प्रमुख सुरेश भण्डारीले झ्यालबाट प्लाइउड हटाउने बताएको उनले जानकारी दिइन् ।