उत्तराखण्ड बाढीमा ८ नेपाली अझै बेपत्ता

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन

भारतकाे उत्तराखण्डको उत्तरकाशी धरालीमा बादल फाटेर आएको आकस्मिक बाढीमा परी ८ जना नेपाली हराइरहेको पुष्टि भएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म उत्तरकाशीमा ८ जना हराइरहेको पुष्टि भएको हो ।

बाढीमा परेर हराइरहेकाहरुको नाम ठेगाना भने दूतावासले सार्वजनिक गरेको छैन । ‘हालसम्म १३ जनाको उद्धार भएको छ, १३ जना हराइरहेका छन्, त्यसमा पौडीगढवालमा पहिरोमा बेपत्ता ५ पनि छन्,’ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘१३ जनाको उद्धार भएको छ ।’ उनका अनुसार उत्तरकाशीको बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धारको काम चलिरहेकाले यो संख्या थप घट हुन सक्ने देखिन्छ ।

मंगलबार आरीघोप्टे वर्षापछि धराली क्षेत्रमा रहेको खीरगंगा नदीमा आएको भीषण बाढीपछि धराली बजार तहसनहस भएको छ । उक्त बजारमा रहेका घर तथा होटलह बाढीले पुरिएका छन् । तिनै पुरिएका घर तथा होटलहरुमा ५० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ । त्यसमैमा नेपालीहरु समेत परेको हुन सक्ने आशंका गरिएको छ ।